आज ३३ औं मदन–आश्रित स्मृति दिवस,, मदन, आश्रित राजनीतिक यात्राका दीपस्तम्भ र युगद्रष्टा सहयोद्धा: अध्यक्ष ओली

काठमाडौं, ३ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ ।

मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।
यसैक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई युगद्रष्टा भएको बताएका छन् । उनले मदन आश्रित स्मृति दिवसका अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै मदन प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘आज मदन–आश्रितको ३३ औं स्मृति दिवस । ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौँ । घाउहरु पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन् ।’

उनले स्मरण गरेका छन्, ‘जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा–सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो । मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो । त्यस दौरानमा उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ ।

जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दियो । त्यसलाई हामीले ुसमृद्ध नेपाल, सुखी नेपालीुको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौँ ।’

उनले पछिल्लो दशक यो अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको बताएका छन् । उनले भनेका छन्, ‘मदन भण्डारी ९ जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका केयौँ अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न । तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन् । जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो ।’

उनले मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्