सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीको सम्पत्ति जफत गरिने, समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नुअघि नै सम्पत्ति रोक्का राख्ने

काठमाडौं, १७ बैशाख । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्था समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नुअघि नै सञ्चालक तथा व्यवस्थापकको सम्पत्ति रोक्का राख्ने भएको छ ।

सरकारले अध्यादेश मार्फत प्राधिकरणलाई थप जिम्मेबार र अधिकारसम्पन्न बनाइ सम्पत्ति रोक्का तथा संस्थाको विद्युतीय अभिलेख नियन्त्रण लिन सक्ने बनाएको हो ।

सरकारले ल्याएको सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश अनुसार समस्याग्रस्त घोषणाको सिफारिस गर्नु अघि रजिष्ट्रार वा प्राधिकरणले सम्बन्धित सहकारी संस्थाका सञ्‍चालक, ऋणी सदस्य, व्यवस्थापक, जिम्मेबारी कर्मचारी, लेखा सुपरीवेक्षण समितिका सदस्य, ऋण उपसमिति लगायतका जिम्मेबार व्यक्तिहरूको चल अचल सम्पत्ति रोक्का राख्न सक्छ ।

त्यसैगरी हिनामिना तथा हानीनोक्सानीमा संलग्न देखिएका अन्य व्यक्तिहरूको चल अचल सम्पत्ति, कारोबार, बैंक खाता, सेयर रोक्‍का राख्‍ने तथा ऋण तमसुक, विद्युतीय अभिलेखसमेत नियन्त्रणमा लिई वा रोक्‍का गरी विदेश यात्रामा समेत प्रतिबन्ध लगाउनु पर्ने व्यवस्था अध्यादेशमा छ ।
यस्तै सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने भएको छ ।

सरकारले समस्याग्रस्त सहकारीको सदस्यका हकमा परिवारको परिभाषा परिवर्तन गरेसँगै यस्तो बाटो खुलेको हो । सरकारले सहकारी ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत परिवारको परिभाषामा अंशबन्डा भइसकेको व्यक्तिलाई पनि समेटेको हो ।

सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश अनुसार ऐनको दफा ८८ बमोजिम लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेको, यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमावली विपरित कार्य गरेको खण्डमा परिवार भन्नाले अब अंशबन्डा भएको व्यक्ति पनि पर्नेछन् ।

त्यसैगरी लिक्विडेसन वा खारेजीमा गएको वा ऐनको दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यका हकमा अंशबन्डा गरी, मानो छुट्टिई वा सम्बन्धविच्छेद भई बसेको परिवारको सदस्य पनि परिवारभित्र पर्ने व्यवस्था अध्यादेशमा गरिएको छ ।

ऐनको परिभाषा खण्डमा ‘नातेदार’ भन्‍नाले काका, काकी, भतिजा, भतिजी, नाति, नातिनी, नातिनी बुहारी, मामा, माइजु, भिनाजु, ज्वाईं, भान्जा, भान्जी, साला, साली, जेठान, जेठानी, फुपू, फुपाजु, नातिनी ज्वाईं, भिन्‍न भएका सासु, ससुरा, दाजु, भाइ, भाउजू, भाइ बुहारी र निजका एकाघरका सदस्य सम्झनु पर्छ र सो शब्दले आफू सदस्य रहेको सहकारी संस्थामा काम गर्ने कर्मचारीलाई समेत जनाउँछ।

प्रतिक्रिया दिनुहोस्