नेपाल–रुस सम्बन्ध थप सुदृढ गर्न आपसी सहयोग विस्तारमा जोड

काठमाडौं, असार ३ — उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा दुवै पक्षबीच नेपाल–रुस द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको थियो।

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र रुसबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले शिक्षा, पर्यटन, उद्योग, यातायात तथा मानव संसाधन विकासका क्षेत्रमा रुसले पुर्‍याएको सहयोगको प्रशंसा गरे।

उनले दुई देशबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानले सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै आगामी दिनमा नयाँ आयाम थपिने अपेक्षा व्यक्त गरे।

यसैबीच, रुसी राजदूत सुरोभत्सेभले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो देश निरन्तर सहयोग गर्न तयार रहेको बताए। उनले जलविद्युत, कृषि, चिकित्सा तथा पूर्वाधार क्षेत्रमा सहयोग विस्तार गर्न रुसी सरकार इच्छुक रहेको जानकारी दिए।

त्यसैगरी नेपाल सरकारबाट औपचारिक प्रस्ताव आएमा वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पुनः सञ्चालनयोग्य बनाउन समेत रुसी पक्ष तयार रहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्