अमेरिका–इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति, ६० दिने युद्धविराम

काठमाडौं, असार ३ — अमेरिका र इरान बीच जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक युद्धविराम सम्झौतामा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्झौता अनुसार तत्कालका लागि ६० दिन युद्धविराम लागू हुने र सो अवधिमा बाँकी विवादित विषयमा सहमति जुटाएर अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ। प्रारम्भिक सम्झौतामा १४ वटा बुँदा समेटिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सम्झौता केही दिनभित्र सार्वजनिक गरिने बताएका छन्।

सम्झौताअन्तर्गत इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि करिब ३०० अर्ब अमेरिकी डलर बराबरको लगानी भित्र्याउने प्रस्ताव गरिएको छ। यो रकम प्रत्यक्ष नगद नभई विभिन्न देश तथा निजी क्षेत्रबाट हुने लगानी प्रतिबद्धतामार्फत परिचालन गरिने बताइएको छ।

रिपोर्टअनुसार पुनर्निर्माणका लागि विशेष कोष स्थापना गरिनेछ, जसमा सरकारी अनुदान नभई निजी लगानी संयन्त्र रहनेछ। ऊर्जा, यातायात, उत्पादन, लजिस्टिक्स लगायत क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने योजना रहेको छ।

लगानी प्रतिबद्धतामा संयुक्त अरब इमिरेट्स लगायत मध्यपूर्वी मुलुक तथा एसिया, युरोप र अन्य क्षेत्रका कम्पनीहरूको सहभागिता रहने दाबी गरिएको छ।

सम्झौताका सर्तअनुसार इरानले आणविक कार्यक्रम सीमित गर्ने, कडा अन्तर्राष्ट्रिय अनुगमन स्वीकार गर्ने तथा उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्ने विषय समावेश रहेको उल्लेख छ।

सम्झौता कार्यान्वयन भएमा इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध क्रमशः खुकुलो हुने र विदेशमा रोक्का सम्पत्ति फुकुवा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्