कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसले पार्टीको आन्तरिक तथा सार्वजनिक नेतृत्व विकासलाई क्षमतायुक्त बनाउने उद्देश्यले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने भएको छ ।

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मातहतमा गठन हुने एकेडेमीलाई कांग्रेसले ‘ट्रेनिङ इन्स्टिच्युट’ को रूपमा परिभाषित गरेको छ ।

यसले पार्टीका क्रियाशील सदस्यहरूलाई कांग्रेसको इतिहास, आदर्श, विचारधारा, आर्थिक नीति, विकास नीति र सामाजिक नीतिबारे प्रशिक्षण दिनेछ ।

क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यकर्ताहरूलाई पार्टीको नीति, कार्यक्रम, प्राथमिकता तथा अद्यावधिक नीतिगत विषयहरूबारे नियमित पुनर्ताजगी तालिम प्रदान गर्ने कांग्रेसको लक्ष्य छ ।

एकेडेमीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय, प्रदेश तथा संघीय तहका जनप्रतिनिधिहरूलाई समेत अनुशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।

आगामी निर्वाचनहरूमा जनप्रतिनिधि बन्ने आकांक्षा राख्ने पार्टी कार्यकर्ताहरूलाई आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकाससम्बन्धी विशेष कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

‘नेतृत्वमा जान चाहने आकांक्षीहरूलाई ज्ञान, कौशलता, व्यवस्थापकीय क्षमता र समग्र रूपमा भरिपूर्ण बनाउने लक्ष्य हो,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने ।

लक्ष्यहरू नबुझाइ र नबुझी जिम्मेवारी दिँदा सुखद र अपेक्षित परिणाम आउन नसक्ने उनको भनाइ छ । ‘पार्टीको लक्ष्य नबुझेका व्यक्तिले जनमत निर्माण गर्न सक्दैन र भएकै जनमतलाई पनि कायम राख्न सक्दैन,’ प्रवक्ता चालिसेले भने, ‘यिनै कुराहरू बुझाउन एकेडेमी स्थापना गर्न लागेका हौं ।’

प्रतिक्रिया दिनुहोस्