‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै नेपाली काँग्रेस

काठमाडौंं, १ बैशाख । नेपाली कांग्रेसले मंगलबारदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै छ । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्ने छन् ।

‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत् कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।

कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।

कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागू गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ ।

कांग्रेसले ‘एक महिने जरामा जाऊँ अभियान’ का क्रममा क्रियाशील सदस्यता अध्यावधिक गर्न जाँदा ‘ओटीपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन भनेको छ ।

क्रियाशील सदस्यता अद्यावधिकको सुरूवात सभापति गगनकुमार थापाले गर्ने भएका छन् । उनले अभियानको पहिलो दिन आफूले क्रियाशील सदस्यता लिएको वडामा पुगेर सदस्यता अद्यावधिक गर्ने कांग्रेसले जनाएको छ ।

सभापति थापाको क्रियाशील सदस्यता काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ । उनको सचिवालयले दिउँसो १ बजे ३० नम्बर वडाको इकाई कार्यालय पुगेर सभापति थापाले सदस्यता अद्यावधिक गर्ने कार्यक्रम रहेको बताएको छ ।

पार्टीका अनुसार पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्यहरूले वैशाख महिना भित्र आफ्नो सदस्यता रहेको वडामा गएर अद्यावधिक गरिसक्नु पर्नेछ ।

अभियानका क्रममा कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकसँगै पार्टीको सांगठनिक गतिविधिको विश्लेषण, जनता–युवा र पार्टी बाहिरका शुभेच्छुकहरूसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम पनि गर्ने भएको छ ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लादेखि वडासम्म विस्तारित पार्टी संरचनाहरूका गतिविधिसँगै भ्रातृ संगठनहरूको अवस्थाका बारेमा प्रतिवेदन तयार पर्ने कार्यभार दिएको छ ।

महामन्त्री पौडेलका अनुसार कांग्रेसले जिल्लामा खटिएका प्रतिनिधिहरूलाई नागरिकसँग निर्वाचनको समीक्षा गर्न पनि भनेको छ । उनीहरूले जिल्लामा पार्टीको आन्तरिक संगठनात्मक प्रणाली भित्र रहेका व्यक्तिहरूसँगको भन्दा फरक ढंगले नागरिकसँग समीक्षा गर्ने छन् ।

कांग्रेसले पार्टी संगठनलाई सामाजिक गतिविधिहरूमा संलग्न गराउने पनि योजना बनाएको छ । जसका लागि कांग्रेसले एक महिने अभियानका क्रममा जिल्लादेखि वडासम्मका कार्यसमितिहरूलाई वार्षिक क्यालेन्डर बनाउन लगाउने भएको छ ।

‘जलवायु जनचेतना, सामाजिक विभेद, विकृति र विसंगतिविरुद्ध सजगता, अनौपचारिक क्षेत्रका श्रमिक, विदेशबाट फर्केका युवा संवाद, लागू पदार्थविरुद्ध युवा अभियान, आमा संवाद र उद्यम अभियान, सभ्यता संस्कृति र प्रकृति संरक्षण अभियान, शिक्षा स्वास्थ्य सुधारलगायतका सामाजिक अभियान सञ्चालन गर्ने र सो को वडा तहमै क्यालेण्डर बनाउने,’ प्रतिनिधिहरूका लागि पारित गरिएको कांग्रेसको कार्यविधिमा भनिएको छ ।

कार्यविधिमा प्रतिनिधिहरूलाई जिल्ला र क्षेत्रीय सभापतिसँग परामर्श गरेर कार्यसमितिको बैठकमा अभियानबारे जानकारी गराउने, प्रत्येक वडाका लागि अभियानको प्रतिनिधि खटाउन जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमतितिसँग समन्वय गर्ने, प्रतिनिधि खटाउँदा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य र जिल्लास्थिति पार्टीका नेताहरूलाई खटाउने र वडा प्रतिनिधिलाई अभियानका बारेमा अभिमुखीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्