यथास्थितिमा राजपा सरकारमा जाँदैन: नेता महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यथास्थितिमा आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंगको कुराकानीमा संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र आफ्नो पार्टी सरकारमा जाने प्रष्ट्याए ।

अध्यक्ष मण्डलका सदस्य रहेका महतोले संविधान संशोधनका विषयमा विगतमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै वर्तमान सरकारमा सहभागिता भन्दा पनि राजपाको मुख्य एजेण्डा संविधान संशोधन नै भएको बताए । उनले सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरे ।

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटक पटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उनले संविधान संशोधन आश्वासनका रुपमा होइन लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गरे ।

नेता महतोले प्रदेश नं २ का जनताको आन्दोलन र मतबाट निर्माण भएको प्रदेश सरकारबाट राजपा अलग नहुने पनि प्रष्ट पारे । उनले आफ्नो पार्टीप्रति जनताको विश्वास रहेकाले जनताको भावनाविरुद्ध राजपाले कुनै पनि निर्णय नलिने बताए ।
उनले अहिले प्रदेश नं २ को सरकारबाट नहट्ने पार्टीको आधिकारिक निर्णय भएको, कार्यकारिणी राष्ट्रपति प्रणालीका सम्बन्धमा संघीय संसद्मा कुनै छलफल नभएको र राजपा संसदीय प्रणालीप्रति समर्पित पार्टी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्