प्रधानमन्त्रीसँग गण्डकी प्रदेशका सांसदहरूको छलफल, सक्ने काम मात्रै तत्काल गरौं
काठमाडौं, २० चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) ले गण्डकी प्रदेशका सांसदहरूसँगै छलफल गरेका छन् प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । जसअर्न्तगत शुक्रबार प्रधानमन्त्री बालेनले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।
‘आफ्नो क्षेत्रको समस्या प्रधानमन्त्रीसँग राखेका छौं,’ नवलपुर–२ बाट निर्वाचित सांसद मनिष खनालले भने । उनले बुटवल नारायणगढ सडकखण्ड, दाउन्ने सडक खण्ड, त्रिवेणी दुम्किवास सडक, तटबन्ध, हुलाकी राजमार्ग मानव र बन्यजन्तु द्वन्द्व, पर्यटनको विकास लगाययमा काम गर्नुपर्ने प्रधानमन्त्रीसँग राखेका छन् ।
‘समाधानको सहजीकरण गर्न सरकारलाई भनेको छु,’ उनले भने । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले असार मसान्तसम्म गर्नुपर्ने काम अड्केकाले ती काममा सहजीकरण गर्न आग्रह गरिएको बताए । ‘असार मसान्तसम्म हुने काम गर्नुपर्यो । अड्केको ठाउँमा फुकाउनुपर्यो,’ उनले भने ।
सांसदहरूले तत्काल र दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने समस्या पनि राखेका छन् । ‘प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएका छौं । क्षेत्रको समस्या उठाएको हो । भौतिक पूर्वाधार, सिद्धार्थ राजमार्ग, कृषि, उत्पादनको आधारमा अनुदान, कृषि एम्बुलेन्स, अस्पतालमा चिकित्सकको दरबन्दी, औषधि, उपकरण, प्रविधिमैत्री शिक्षा, नमुना स्कुलको अवधारणा, खानेपानी, सिंचाइका समस्या राखेका छौँ,’ स्याङ्जाबाट निर्वाचित झविलाल डुम्रेले भने ।
प्रधानमन्त्री बालेनले सबै सांसदको कुरा सुनेको र सचिवालयले टिपोटसमेत गरेका छन् । ‘हाम्रो कुरा प्रधानमन्त्रीज्यूले सुन्नु भएको छ । गर्न सक्ने काम तत्काल गर्ने र गर्न नसकिनेलाई अहिले नसकिने भन्नु भएको छ,’ नवलपुर–१ बाट निर्वाचित सांसद राजन गौतमले भने ।
छलफलमा सहभागी सांसदका अनुसार प्रधामनन्त्री बालेनले सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । सचिवालयसँग नियमिति सम्पर्क र सहजीकरण गर्न पनि प्रधानमन्त्री बालेनले सांसदलाई आग्रह गरेका छन् । समस्याहरू लिखितरुपमा प्रधानमन्त्री कार्यालयमा दिन प्रधानमन्त्री बालेनले भनेका छन् ।
‘जुन समस्या हो त्यो सम्बन्धित मन्त्रालयसँग कोर्डिनेसन गर्ने र प्रदेशको सबै सांसद रहनेगरी ह्वाट्सएप ग्रुपमा जोडिन भन्नु भएको छ,’ सांसद मनिष खनालले भने । यसअघि प्रधानमन्त्री बालेनले अन्य प्रदेशका संसादसँग पनि छलफल गरेका थिए ।














प्रतिक्रिया दिनुहोस्