सभामुखको मनोनयन २० गते र २२ गते निर्वाचन
काठमाडौं, १८ चैत। प्रतिनिधि सभाको सभामुखको मनोनयन २० गते गर्ने र २२ गते निर्वाचन गर्ने सहमति बनेको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू, सरकारका प्रतिनिधि र सचिवालयका पदाधिकारीको बैठकमा नयाँ सभामुख चयनको प्रक्रिया बिहीबारदेखि नै सुरु गर्ने सहमति जुटेको छ ।
बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले अधिवेशनको सुरुवात हुने दिन बिहीबारदेखि नै सभामुखको चयन प्रक्रिया सुरु गर्ने सहमति बनेको जानकारी दिए । उनका अनुसार २० गते सभामुखको मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने सहमति बनेको बताए ।
निर्वाचनपछि बनेको प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था संविधानमा छ । त्यो बेलासम्म निर्वाचित सांसदहरूमध्येका ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था पनि संविधानमा छ । अहिले ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद ७८ वर्षीय अर्जुननरसिंह केसी छन् । उनले सभामुख निर्वाचित नहुँदासम्म सभाको अध्यक्षता गर्नेछन् ।
संविधानको धारा ९१ को उपधारा .(१) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख शीर्षकमा लेखिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’ यसको लागि सबै प्रक्रिया अगाडी बढेको छ ।














प्रतिक्रिया दिनुहोस्