कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाइदिन मतदातासँग उपसभापति शर्माको आग्रह

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाइदिन मतदातासँग आग्रह गरेका छन् । शनिबार झापा निर्वाचन क्षेत्र नम्बर १ को बुद्ध शान्ति(४ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो आग्रह गरेका हुन् ।

‘नेपाली कांग्रेस पार्टी आफू बदलिएर देश बदल्ने संकल्प गरेर आएको छ,’ उपसभापति शर्माले भने, ‘यसैले नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठुलो दल बनाउनुपर्छ ।’ अहिले देशमा विषम परिस्थिति रहेको टिप्पणी गर्दै उनले यस्तो बेला चुनावमा हार्ने र जित्ने कुरा सामान्य रहेको बताए । ‘तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो,’ शर्माले भने ।

यस्तो बला मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता कांग्रेससँग मात्रै भएको उनले दाबी गरे । ‘नेपाली कांग्रेसलाई जनताले जिताएर पहिलो पार्टी बनाउँछन्,’ उनले अगाडि भने ।

आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न पनि उपसभापति शर्माले आह्वान गरे । उनले भने, ‘बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न जेनजी भाइबहिनीहरूलाई आह्वान गर्दछु ।’ –रासस

 

 

प्रतिक्रिया दिनुहोस्