अब काठमाडौँमा मधेशको बारेको बहस हुन्छः सभापति थापा

काठमाडौं, १२ माघ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट्याएका छन् । मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही, ४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सुझबुझ गरेरै आफू मधेश झरेको बताएका हुन् ।

‘यहाँ समस्याहरू शिक्षामा छ, स्वास्थ्यमा छ, रोजगारीमा छ जुन कुरा देशसँग पनि जोडिन्छ। त्यसैले मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो। मैले एकदम रोजेर, छानेर म यहाँको यहाँको माटोसँग म जोडिन्छु भनेर आएको हो,’ उनले भने ।

उनले सर्लाहीको पार्टी समितिले पटकपटक उम्मेदवार बन्न बोलाएको पनि बताए । ‘यो पटक पनि फेरि मलाई यहीँ माया गरेर बोलाउनुभयो। त्यसैले मधेश जाने मेरो मन भएको, सर्लाही क्षेत्र नम्बर ४ ले मलाई अवसर दिनुभयो, त्यसकारणलेआउने अवस्था बन्यो’ उनले थपे ।

मधेशको मुद्दा थाहा पाउन, बुझ्न र भोलि त्यसका बारेमा लड्न, बहस गर्न सहज होस भनेर भित्रि मधेशको जिल्ला आफ्नो रोजाइमा परेको बताए ।

‘अब यति कुरा म विश्वासका साथ भन्न सक्छु कि, अब काठमाडौँमा मधेशको बारेको बहस भिन्न ढंगले हुन्छ। हिजो कुनै बेला मधेशको मुद्दाहरू नै उठ्दैनथ्यो, लामो समय मधेशको मुद्दा उठ्यो— म उठेन भन्दिनँ,’ थापाले भने, ‘तर अब मधेशको मुद्दा उठ्ने मात्र होइन, मधेशको मुद्दा सम्बोधन हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्