कांग्रेसको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन गरे अपिल

काठमाडौंं, २४ पुस । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको बैठकले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबारमात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।

२ हजार ४८८ महाधिवेशन प्रतिनिधिले बुधबार नै विशेष महाधिवेशन आह्वान गरेका थिए । तर, केन्द्रीय कार्यालयले भने त्यो आह्वान अवैधानिक भन्दै उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिसकेको छ ।

यही विवादको समाधान खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको थियो ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । त्यो प्रस्तावमा अधिकांश सदस्यहरूको सहमति रहेको एक पदाधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्