राप्रपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गर्याे
काठमाडौं, १२६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको एकता प्रस्ताव अनुमोदन गरेको छ ।
आज बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले राप्रपासँगको एकता प्रस्ताव अनुमोदन गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
भोलि १६ पुसमा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीले एकता सभा गर्दैछन् । राप्रपा नेपालको बैठकले एकता घोषणासभा भव्यतापूर्वक सम्पन्न गर्न नेता–कार्यकर्ता परिचालनको निर्णय पनि गरेको छ ।
एक पदाधिकारीका अनुसार केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष कमल थापा भावुक बनेका थिए । उनले संकटपूर्ण अवस्थामा आफूमाथि विश्वास राखी सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे ।
एकतापछि एकीकृत पार्टीमा पनि त्यसैगरी क्रियाशील हुन उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका थिए ।
कांग्रेस र कम्युनिस्टको विकल्प बन्ने भन्दै आएकाहरूमा सैद्धान्तिक अस्पष्टता रहेको भन्दै थापाले एकीकृत पार्टीले निर्वाचनलाई आन्दोलनको रूपमा सदुपयोग गर्ने बताए । बैठकमा महामन्त्री बर्तौलाले राप्रपासँगको एकताबारे जानकारी गराएका थिए ।















प्रतिक्रिया दिनुहोस्