मोदीको जनकपुर भ्रमणमा भएको खर्च सार्वजनिक गर्न कांग्रेसको माग

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ मा भएको जनकपुर भ्रमणको क्रममा प्रदेश सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । सोमबार बसेको प्रदेश नं. २ को प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले मोदीको जनकपुर भ्रमण भएको एक महिना बित्न लाग्दा समेत हरहिसाब नगरेकोले यथाशिघ्र सार्वजनिक गर्न माग गरे ।

बैठकको शुरुमै प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रीे जितेन्द्र सोनलले प्रदेश सरकार जनताकै अपेक्षा अनुसार इमान्दारितापूर्वक काम गरिरहेको दावी गर्दै केही पत्रकार र मिडियाले अपुष्ट समाचार सम्प्रेषण गरी प्रदेश सरकारलाई बदनाम गराउने काम गरिरहेको भन्दै आक्रोश पोखे ।

उनले केन्द्र सरकामा फोरम र नेकपाले सहमति गरे पनि प्रदेश सरकारमा त्यसको असर नपर्ने बताए । मन्त्री सोनलले प्रदेश सरकारलाई राजपाको समर्थन निरन्तर रहिरहने बताउँदै मधेशी जनताको भावना अनुसार नै सरकार चलेको दावी गरे । प्रदेश सरकारले अहिलेसम्म गरेको कामले प्रदेश, देश र छिमेक देश भारतका जनता समेत गौरवान्वित रहेको मन्त्री सोनलको भनाई छ ।

त्यसपछि प्रतिपक्षी दलका संसदीय दलका नेता यादवले प्रदेशसभामा सफाई दिएर आफु चोखो हुँ ठान्नु भन्दा मोदी भ्रमणको एक महिना बित्न लाग्दा समेत सरकारले किन हरहिसाब सावैजनिक नगरेको भन्दै प्रश्न गरे । ‘एक महिना बित्न लागेको छ, खर्च भएको रकम कहाँबाट आयो ? कति खर्च भयो ? कहाँ भयो ? लगायतका प्रश्न जनताका लागि स्वभाविक हो ।’ प्रतिपक्षी दलका नेता यादवले भने, ‘यहाँ सफाई दिनुपर्ने जरुरी छैन र हरहिसाब सार्वजनिक गर्नुस । तपाईँ इमान्दार हो कि बेइमान आफै प्रष्ट हुन्छ ।’

दोस्रो अधिवेशन अन्तर्गत बसेको प्रदेशसभाको चौथो बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रमसम्बन्धी पत्र पढेर सभामुख सरोज यादवले सुनाएका थिए ।

उनले प्रदेश २ सरकारको २०७५।०७६ को नीति तथा कार्यक्रम आउँदो जेठ २४ गते दिउँसो डेढ बजे प्रदेशसभामा प्रस्तुत हुने भएकाले सबै प्रदेश सांसदलाई अनिवार्य उपस्थितिका लागि जानकारी गाराउँदै मंगलबार दिउँसो ३ बजेसम्मको लागि बैठक स्थगित गरेको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्