निर्वाचन परिचालन कमिटीको प्रवक्ताको जिम्मेवारी नेता रिमाललाई

काठमाडौं । नेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई जिम्मेवारी दिएको छ । नेकपा एमालले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक सूचना प्रवाह र सञ्चार समन्वयका लागि नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बैठकले निर्वाचनका क्रममा समन्वय गर्न अन्य नेतालाई पनि जिम्मेवारी तोकेको छ । निर्वाचन आयोगतर्फ पोलिटब्यूरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ । त्यसैगरी बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेतलाई परिचालन कमिटी सदस्यमा थप गरेको छ ।

बैठकले सबै निर्वाचन क्षेत्रमा हुनसक्ने सम्भावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्ने प्रकारका गतिविधिप्रति सचेत रहन कार्यकर्तालाई आह्वान गर्दै विभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचारसंहिता विपरीतका गतिविधिप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको जनाएकोछ । निर्वाचनमा सबै कार्यर्तालाई संयमित र चनाखो भई काम गर्न पनि पार्टीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्