आर्थिक वर्षसंगै सरकारले पूर्ण गतिका साथ काम गर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सरकारले पूर्ण गतिका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धि र भावी योजनबारे आज भिडियो सन्देश दिँदै उहाँले नयाँ आर्थिक वर्षको शुरुदेखि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक हिसाबले समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई सकार पर्ने संकल्प पनि घोषणा गरे ।

प्रधानमन्त्री ओलीले भने, “यो सरकार लोकप्रियताका लागि काम गर्दैन, बरु काम गरेर लोकप्रिय हुन्छ, पहिलो १०० दिनका आफ्ना अनुभवका आधारमा विकास र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाइनेछ ।”

उहाँले यस अवधिमा सार्वजनिक यातायात क्षेत्रको डरलाग्दो एकाधिकार तोडिएको, सुन तस्करीविरुद्ध निर्मम कारबाही प्रारम्भ भएको, ठूला परियोजना ओगटेर बस्नेमाँझ कारबाही शुरु भएको र रोजगारीको अभावमा काम खोज्न विदेशिन बाध्य नेपाली माथिको ठगी गर्नेमाथि कठोर कारबाही शुरु भएको सन्देशमा उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौँ–लुम्बिनी तथा काठमाडौँ–वीरगञ्ज रेलमार्गको चाँडै सर्वेक्षण गरिने बताउँदै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास, भारतसँग समानताका आधारमा सम्बन्धनको थालनी, अनावश्यक विदेश भ्रमण र सार्वजनिक बिदामा कटौती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घण्टे सञ्चालन, विराटनगरस्थित भारतीय स्थल कार्यालय हट्नुलगायतलाई सरकारको १०० दिनको उपलब्धिमा उल्लेख गरे ।

सार्वजनिक बिदा कटौतीबाट कूल एक करोड ९२ लाख कार्य दिन नाफामा जाने भएकाले विकासमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने, “पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउनेछु, समृद्ध र सुखी नेपाल बनाएर छाड्नेछु ।”

प्रतिक्रिया दिनुहोस्