पूँजी नपुगेका सेयर ब्रोकरलाई समय थपको सुविधा दिने तयारी

काठमाडौं,१७ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) को न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउने म्याद ९ महिना थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले माग गरेअनुसार दुई वर्षको सट्टा बोर्डले राष्ट्र बैंकको शैली अनुसार पहिलो चरणमा ९ महिना समय थप गर्न प्रस्ताव गरेको हो । गत शुक्रबार पठाइएको यो प्रस्ताव मन्त्रालयबाट स्वीकृत भएपछि मात्रै सार्वजनिक गरिने बोर्ड स्रोतले जनाएको छ ।
यसअघि पुँजी पुर्याउने म्याद २०८२ असार मसान्त तोकिएको थियो । तर समय अभाव र मर्ज प्रक्रिया ढिलो भएकाले पुराना ब्रोकर कम्पनीहरू म्यादभित्र पुँजी पुर्याउन नसक्ने अवस्थामा पुगेपछि समय थपको माग गरिएको हो ।

हाल ३९ वटा ब्रोकरको पुँजी अपुग रहेकोमा आठ ब्रोकरले पुँजी पुर्याउने योजना बोर्डमा बुझाइसकेका छन्। कोहिनुर इन्भेष्टमेन्ट, जेएफ सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्टजस्ता कम्पनी योजनासहित अगाडि बढेका छन् भने बाँकी ३१ कम्पनीले योजना पेस गर्न बाँकी रहेको छ ।

बोर्डले यसअघि २०७९ भदौ २९ मा नियमावली संशोधन गर्दै सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, पूर्णकार्य गर्नेलाई ६० करोड र व्यापारीका लागि १ अर्ब ५० करोड चुक्ता पुँजी तोकेको थियो । तर समयमै मर्ज सम्बन्धी निर्देशिका नआएका कारण ब्रोकरहरूले पुँजी संकलन योजना बनाउन कठिन भएको जनाउँदै म्याद थपको माग गरेका थिए ।

बोर्डले पुँजी अपुग भए पनि सीमित कार्य गर्ने ब्रोकरलाई मार्जिन कारोबार गर्न दिने गरी नियमावली फेरबदलको तयारी गरिरहेको छ । बोर्डका अनुसार, बजारको विकासका लागि यो लचिलो नीति आवश्यक छ। यसबाट पुराना ब्रोकरलाई समेत प्रतिस्पर्धा र नविकरणको अवसर मिल्ने बोर्डको धारणा छ ।

हाल नेपाल स्टक एक्सचेञ्जमा दुई धितोपत्र व्यापारी (नागरिक र नबिल स्टक डिलर), दुई पूर्ण कार्य गर्ने ब्रोकर (हिमालयन र एनआईएमबि) र ८८ सीमित कार्य गर्ने ब्रोकर क्रियाशील छन्। अब पुँजीको झिनो अभाव भएकाहरूले पनि नियमावली संशोधनपछि थप अवसर पाउने अपेक्षा गरिएको छ ।

धितोपत्र नियमनको लचिलो नीतिगत परिवर्तनले बजारमा स्थायित्व ल्याउने कि अनिश्चितता बढाउने भन्ने प्रश्न भने अझै खुला छ । अर्थ मन्त्रालयको निर्णयपछि मात्रै यो विषयमा स्पष्टता आउनेछ ।

प्रतिक्रिया दिनुहोस्