प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको  जवाफ आज दिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिनुहुने भएको छ ।
संघीय संसद्का दुबै सदनमा छलफलका क्रममा सांसद्हरुले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको सरकारको नीति तथा कार्यक्रममा तीन दिनसम्म छलफल चलेको थियो ।

शुक्रबार नै जवाफ दिने तयारी गरिए पनि समय अभावका कारण आजका लागि बैठक बोलाइएको हो ।
नीति तथा कार्यक्रममा सत्तारुढ दलका सांसद्हरुले समर्थन गरेका छन् । कार्यक्रमको आलोचनाभन्दा सुझाव सत्तापक्षका सांसद्हरुले दिएका छन् ।

प्रतिपक्ष दलका सांसद्हरुले भने नीति तथा कार्यक्रमका प्राथमिकतामाथि प्रश्न उठाएका छन् । यस्तै, आर्थिक वृद्धिदर दोहोरो अंकमा र्पुयाउने, प्रतिव्यक्ति आय दोब्बर बनाउनेजस्ता सरकारका कार्यक्रमको आधारमाथि प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीको जवाफसँगै चित्त नबुझ्ने सांसद्हरुले स्पष्टीकरण सोध्ने मौका समेत पाउनेछन् प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम पारित हुनेछ । त्यसअघि नीति कार्यक्रममा पेस भएका ६ वटा संशोधनलाई निर्णयार्थ पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्