मैलुङ–स्याफ्रुबेशी सडकको समुद्घाटन
काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन रहेको राष्ट्रिय प्राथमिकताको योजना मैलुङ—स्याफ्रुबेशी सडककोे समुद्घाटन भएको छ ।
नेपाली सेनाले निर्माणको जिम्मेवारी दिएको उक्त मैलुङ—स्याफ्रुबेशी सडककोे समुद्घाटन आज रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका हुन् । सोही अवसरमा नेपाली सेनाले गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई औपचारिक रुपमा उक्त सडक हस्तान्तरण गरेको छ ।
२०७२ मा मैलुङ–स्याफ्रुबेशी सडक खण्डमा नेपाली सेनाले निर्माण कार्य शुभारम्भ गरी सम्पन्न गरेको छ । सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएकोमा भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ कि.मि. को डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी प्राप्त भएको थियो ।
बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ—स्याफ्रुबेशी सडक खण्डको दुरी करिव २५ कि.मि. कम भएकोले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुको साथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रुपमा समेत रहेको छ । यो सडक खण्डमा घुम्तीहरु नहुनुका साथै ग्रेडिएन्ट समेत मिलेको हुँदा तुलानात्मक रुपमा बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा सजिलो र सुरक्षित समेत रहेको छ ।
सोहि अवसरमा रसुवा जिल्लाको स्याफ्रुबेशीमा जिल्ला समन्वय समितिले सञ्चालन गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेल, भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी र र सुवाका संसद मोहन आचार्यले राष्ट्रले दिएको महत्वपूर्ण जिम्मेवारी समयमा सफलता पूर्वक सु—सम्पन्न गरेकोमा प्रसंसा गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्