एनपीएल–३ मा पहिलो म्याचबाटै डीआरएस प्रयोग हुने, भारतीय कम्पनीसँग सम्झौता

काठमाडौं, ३ कार्तिक । नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलोपटक डीआरएस (डिसिजन रिभ्यू सिस्टम) प्रयोग हुने भएको छ ।

एनपीएलको तेस्रो संस्करणमा पहिलो म्याचबाटै डीआरएस प्रयोग हुने नेपाल क्रिकेट संघ ९क्यान० स्रोतले बतायो ।

यस सम्बन्धमा आज क्यानले औपचारिक घोषणा गर्ने बुझिएको छ । स्रोतका अनुसार भारतीय कम्पनीसँग सम्झौता गरेर डीआरएस ल्याउन लागिएको हो । दुईदेखि अढाई करोडको सम्झौता भएको बुझिएको छ ।

डीआरएसमा भएको लगानीको केही हिस्सा एनपीएलका फ्रेन्चाइजहरूले पनि सेयर गर्ने मोडालिटी क्यानले बनाएको छ ।

क्यानले कति र फ्रेन्चाइजहरूले कति हिस्सा सेयर गर्ने भन्ने तय भइसकेको छैन ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा एक एआई निर्मित भिडिओ पोस्ट गर्दै एनपीएलमा डीआरएस प्रयोग हुने जनाउ दिएका छन् ।

डिआरएसले म्याचका क्रममा अम्पायरको निर्णय चित्त नबुझेको खण्डमा बलिङ वा ब्याटिङ गर्ने टिमले रिभ्यु गर्न सक्ने सुविधा प्रदान गर्छ । यो अन्तर्राष्ट्रिय क्रिकेटमा भित्रिएको पछिल्लो अत्याधुनिक प्रविधि हो ।

 

प्रतिक्रिया दिनुहोस्