माइती जाने छोरीचेलीलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क बाइक सेवा

काठमाडौं, ३ कार्तिक । दशैंमा माइती जाने छोरीचेलीलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क बाइक सेवा सुरु गरेका छन्।

‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रमअन्तर्गत युवाको टोलीले कात्तिक ३ देखि ६ गतेसम्म माइती जाने र फर्कने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउन थालेको हो। कार्यक्रमका संयोजक सञ्जयकुमार राईका अनुसार दिक्तेलबाट ३५ किलोमिटर दूरीसम्म यो सेवा उपलब्ध गराइनेछ।

सवारीसाधन नपाएर समस्यामा परेका तथा आर्थिक अवस्था कमजोर भएका चेलीलाई लक्षित गरी अभियान सञ्चालन गरिएको राईले बताए। इच्छुक युवाले स्वतःस्फूर्त रूपमा अभियानमा जोडिएर सेवा दिन सक्नेछन्। सेवा चाहनेका लागि पाँच सदस्यीय सचिवालयसमेत गठन गरिएको छ।

आउँदो तिहारमा पनि कात्तिक २४ देखि २६ गतेसम्म निःशुल्क बाइक सेवा सञ्चालन गर्ने तयारी रहेको राईले बताए। सेवा पाएपछि माइती जान सहज भएको भन्दै चेलीहरू खुसी भएका छन्।

विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले २०८१ सालदेखि यो अभियान सञ्चालन गर्दै आएका छन्। सवारीसाधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका तथा भाडा तिरेर यात्रा गर्न नसक्ने महिला, बालबालिका र वृद्धवृद्धालाई माइती वा मावली घर आउजाउमा सहज बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो।

अभियानअन्तर्गत बाइक चलाउने युवालाई इन्धन खर्च जुटाएर उपलब्ध गराउने गरिएको छ। तर, सरकारी सेवा(सुविधा प्राप्त गर्ने, बहालवाला जनप्रतिनिधि तथा घरमै सवारीसाधन भएका चेलीले भने यो सुविधा पाउने छैनन्।

दशैंको टीका र भाइटीका मनाउन माइती जाने चेलीलाई लक्षित गरी सुरु गरिएको यो रचनात्मक अभियानको सिको छिमेकी जिल्लामा समेत हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्