भीम रावलले दिए ओलीलाई यस्तो चेतावनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर असहमति जनाएका छन् ।
नेता रावलले शीर्ष नेतालाई भेटेर केन्द्रीय सदस्य मनोनयन सच्याउन चेतावनी दिएका छन् । ९ सदस्यीय हाइकमाण्डमा नपरेपछि असन्तुष्ट बनेका रावलले पूर्व एमाले समूहबाट मनोनित ४५ जना सदस्यको सूचीमा आपत्ति जनाएका हुन् ।
रावलले आइतबार अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर असन्तुष्टि जनाएका छन् । ओली र नेपालले तय गरेको सूचीमा ७ नम्बर प्रदेशबाट समावेश भएका नाममा रावलले असहमति जनाएका छन् ।
सूची नसच्याए स्वीकार्य नहुने जानकारी समेत गराइएको रावलनिकट स्रोतले जनाएको छ ।
प्रदेशका वरिष्ठ र योग्य नेताहरुलाई पाखा लगाएर जनता कार्यकर्ताले नचिनेका मान्छेलाई समेटिएको आरोप रावलको छ ।
दुई नेता मिलेर मनपरी गरेको भन्दै आपत्ति जनाएका छन् । पार्टी एकता प्रक्रियादेखि मनोनयनसम्म आफूसँग सल्लाह नगरिएको र बाइपास गरिएको गुनासो रावलले गरे ।
मनोनित केन्द्रीय सदस्यहरुको सूची नसच्याए तल्लो तहमा भेला आयोजना हुने चेतावनी समेत नेतृत्वलाई दिइएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन एमालेका कैलाली जिल्ला इञ्चार्ज झपट रावलले मनोनयनको सूची सच्याउन आग्रह गरिएको बताए ।
केन्द्रीय सदस्य मनोनयनमा समेत आफूले भनेका मान्छे नपरेपछि रावलले सूची सच्याउन चेतावनी दिएका हुन् ।
रावलले आजै मध्याह्न काठमाडौंको सिनामंगलमा प्रदेशका सांसदहरुसँग छलफलको आयोजना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्