संविधान र संघीयता कार्यान्वयनका लागि विधेयक छिट्टै संसद्मा पेश गर्ने तयारी: मन्त्री तामाङ
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयक छिट्टै संसद्मा पेश गर्ने तयारी गरिरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले प्रदेश तथा स्थानीय तहका लागि पनि कानून तर्जुमा भएपछि सरलता आउने बताए ।
मन्त्री तामाङले प्रतिनिधिसभा कार्य सञ्चालनसम्बन्धी नियमावलीमा विपक्षको पनि सहमति लिएर पारित गर्ने सरकारले तयारी गरिरहेको बताउँदै तर काममा बाधा आउने स्थिति आएमा प्रक्रियामा लैजाने स्पष्ट पारे।
उहाँले फौजदारी अभियोग लागेका सभासद्लाई उन्मुक्ति दिन नहुने बताउँदै नयाँ नियमावलीले त्यस्ता सांसदलाई निलम्वन गर्ने प्रावधान राख्न लागेको बताए ।
नेपाली काँग्रेसका नेता दीलेन्द्रप्रसाद बडूले नेपाली काँग्रेस फौजदारी अभियोग लागेका सांसदको निलम्वनको विपक्षमा नभएको बताउँदै तर संविधान, कानूनको भावनाअनुसार नियमावली तयार गर्नुपर्नेमा जोड दिए ।
राजपाका नेता लक्ष्मणलाल कर्णले नयाँ संविधानलाई राजपाले अहिले पनि स्वीकार गरिनसकेको बताउँदै संविधानलाई मिचेर नियमावली ल्याउन नहुने बताए ।
पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधानमा समाजवादउन्मुख भनी लेखिएको जानकारी दिँदै वर्तमान सरकारले समृद्धिका लागि आम जनसमुदायलाई पनि सँगै अभियानमा सहभागी गराउने उद्देश्य राखेको बताए ।
–––
प्रतिक्रिया दिनुहोस्