मौद्रिक नीतिको समीक्षामा विद्युतीय गाडी खरिदमा कडाई, बैंकलाई राहात र लघुवित्तमा लचिलो

काठमाडौ,१४ फागुन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गरेका छन्। । जसमा बैंक तथा वित्तीय संस्थाहरूसँग सम्बन्धित केही महत्वपूर्ण निर्णयहरू समावेश गरिएका छन्। ।

बैंकरहरूको मागलाई सम्बोधन गर्दै असल कर्जामा १ प्रतिशत मात्र प्रोभिजन राख्ने निर्णय गरिएको छ । यसअघि असल कर्जामा १ दशमलब १० प्रतिशत प्रोभिजन राख्नुपर्ने व्यवस्था थियो ।

लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदरलाई आगामी २०८२ जेठदेखि आधारदरसँग आबद्ध गर्ने निर्णय गरिएको छ । जसले लघुवित्त ग्राहकहरूको ऋण लागतलाई स्थिर बनाउने अपेक्षा गरिएको छ । अहिले आधारदरसंग आबद्द गर्ने भनिएपनि आधार दरमा बढीमा कति प्रतिशतसम्म ब्याज तोक्न पाइने भन्ने कुरा राष्ट्र बैकले पछि सर्कुलर मार्फत खुलाउने अपेक्षा गरिएको छ ।

बैंकहरूको विदेशी विनिमय कारोबारमा सुधार ल्याउने उद्देश्यले ननडेलिभरेबल फरवार्डको प्राथमिक पुँजीको सीमा १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएको छ । यस निर्णयले विदेशी विनिमय कारोबारलाई सहज बनाउने विश्वास गरिएको छ ।

व्यक्तिगत तथा विद्युतीय सवारी साधन खरिदमा कर्जाको ऋण मूल्य अनुपात ६० प्रतिशतसम्म कायम गरिएको छ, जसले ग्राहकहरूलाई केही सहजता प्रदान गर्नेछ । ययसअघि विद्युतीय गाडीको खरिदमा २० प्रतिशत डाउनपेमेन्ट र पेट्रोल, डिजेल र हाइब्रिड सवारीमा ६० प्रतिशत डाउनपेमेन्ट कायम गरिएको थियो । यो व्यवस्थाले विद्युतीय गाडी खरिदमा केहि कडाई देखिएको छ भने नन विद्युतीय गाडी व्यवसायीलाई समान प्रतिस्पर्धाको ठाउँ दिएको छ ।

मौद्रिक नीतिमा नीतिगत दरमा कुनै परिवर्तन गरिएको छैन । राष्ट्र बैंकले मुद्रा स्फीति ५ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखेको थियो, तर मुद्रास्फीति उक्त सीमाभन्दा माथि पुगे पनि राष्ट्र बैंकले तत्काल नीतिगत दर परिवर्तन नगर्ने निर्णय गरेको छ । यस समीक्षासँगै नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्वलाई कायम राख्दै अर्थतन्त्रमा तरलता व्यवस्थापनका उपायहरू लागू गर्ने संकेत दिएको छ ।

धितोपत्र बजारका शेयर लगानीकर्ताको लागि भने अर्धबार्षिक समिक्षामा खास केहि छैन  । अर्ध बार्षिक समिक्षा मार्फत शेयर धितो कर्जाको माथिल्लो सिमा हट्ने र शेयर धितो कर्जाको जोखिम भार डेढ सयबाट सयमा झारिने अपेक्षा गरिएको थियो । त्यहिअनुसार, पछिल्लो केहि दिन यता शेयर बजार परिसूचक नेप्सेमा समेत वृद्धि आएको थियो ।

प्रतिक्रिया दिनुहोस्