एकता प्रक्रियालाई टुंगोमा पुर्याउन अध्यक्षद्वयबीच बालुवाटारमा छलफल
काठमाडौँ । पार्टीको एकता प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।
पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ । दुई नेताबीच बालुवाटारमा वार्ता जारी छ । यसअघि मंगलबार प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो ।
ओली र प्रचण्डको वार्तापछि एमालेको स्थायी कमिटी बैठक बस्नेछ । अपरान्ह बस्ने बैठकमा पार्टी एकतामा भइरहेको प्रगतिबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनेछन् ।
पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचारबाजी भइरहे पनि बाहिर आएजस्तो कुनै खटपट नरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्