वाइडबडी प्रकरण: आरोपीमध्ये शाहीसहित केहिलाई सफाइ
काठमाडौं, २१ मंसिर । विशेष अदालतले वाइडबडी खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका ३२ जना आरोपीमध्ये १० जनालाई मात्रै भ्रष्टाचारी ठहर गरेर अरुलाई सफाइ दिएको छ ।
नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार तथा बोर्डका सदस्यहरु बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना कसुरदार ठहरिँदा तत्कालीन पर्यटनमन्त्री जीवन कुमार शाहीसहित कहिलाइए सफाइ दिएको छ ।
त्यसैगरी विमान आपूर्ति गर्ने विदेशी कम्पनी र तिनका ८ प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा चलेकोमा भुक्तानी भएको रकम राख्ने एस्क्रो कम्पनी र उसका दुई प्रतिनिधिबाहेक अरु ६ आरोपितहरु कसुरदार ठहरिए ।
विशेष अदालतले अख्तियारले दावी गरेको भ्रष्टाचारको अंक९बिगो०लाई भने हुबहु सदर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार गरेको ठहर्याएको हो ।
जीवनबहादुर शाही स् सटहीको निर्णयमा बदनियत नदेखीको विशेष अदालतको ठहर:
तत्कालीन पर्यटनमन्त्री शाहीमाथि मूल्य बढाउने अनि विमानको भारवहन क्षमता घटाउने निर्णयमा सहयोग पुर्याएको लागेको थियो । नेपाल वायुसेवा निगमका पदाधिकारीहरूसँगको मिलेमतोमा बैंक जमानत विना नै सटही सुविधा दिएको आरोप उनीमाथि थियो ।
निगमको कुनैपनि खरिदमा मन्त्रीको जिम्मेवारी नदेखिने भन्दै विशेष अदालतले सटही सुविधा दिने निर्णय गरेका आधारमा मात्रै कसुरदार नहुने भनी संक्षिप्त व्याख्या गरेको छ ।
विशेष अदालतले आदेशमा भनेको छ, ‘सटही सुविधाको सिफारिसको पत्र पठाउँदा खरिद प्रक्रियाको कागजात उनी समक्ष पेश भएको भन्ने अख्तियारको दावी नगरेको र बहसका क्रममा देखाउन सकेको अवस्था छैन । सटहीका लागि मन्त्रीको हैसियतमा सिफारिसको टिप्पणी सदर गरेको मात्र कार्यमा बदनियतपूर्ण संलग्नता रहेको भन्न मिलेन ।’
वाइडबडीले उडान भर्दा २४२ टन क्षमताको विमान खरिद गर्नुपर्नेमा २३० टनको विमान खरिद भएको थियो । त्यसले गर्दा वाइडबडी विमानहरु लामो दुरीको उडान गर्न नसक्ने अवस्थामा पुगेको थियो ।
विमानको क्षमता घटाउने भूमिकामा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका साथै आपूर्तिकर्ता समेत रहेको एएआर कम्पनीका प्रतिनिधि दीपक शर्मा संलग्न थिए । सुगतरत्नलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ भने शर्मामाथि थप अनुसन्धान गर्न विशेषले अख्तियारलाई भनेको छ ।
सातमध्ये दुईमात्रै दोषी ठहर
अख्तियारले नेपाल वायुसेवा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारी सहित सञ्चालक समितिका सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसार लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डेमाथि मुद्दा चलायो ।
उनीहरु सहित सहसचिव जीवनप्रकाश सिटौला र अच्युतराज पहाडीविरुद्ध विनियमावली संशोधन नगराई विमान खरिद प्रक्रिया अघि बढाएको आरोपमा भ्रष्टाचारको आरोप लगाएको थियो । लामिछाने सचिव बढुवा हुने क्रममा थिए ।
विशेष अदालतले लामिछाने र ढुंगाना बाहेक सबैलाई सफाइ दियो । एमओयु स्विकृत गर्ने बैठकमा उपस्थित नभएको आधारमा टेकनाथ आचार्यले सफाइ पाए । पर्यटन व्यवसाय पृष्ठभूमिका निमा नुरु शेर्पा, मुक्तिराम पाण्डेले निर्णायक राय राखेको नदेखिएको आधारमा आरोपबाट मुक्ति पाए ।
निगमका उच्चपदस्थ कर्मचारीको संलग्नता देखिएन स् विशेष अदालत
अख्तियारले निगमका कामु निर्देशक रामहरि शर्मा सेढाइ, जनकराज कालाखेती र उपनिर्देशक प्रभाषकुमार कर्माचार्य विरुद्ध पनि खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक काम गरेको आरोप लगाएको थियो । उनीहरूले कागजात तयार पार्ने क्रममा बदनियत राखेको पुष्टि नभएको भन्दै विशेष अदालतले भ्रष्टाचारी ठहर गर्न नमिल्ने व्याख्या गरेको हो ।
अख्तियारले भ्रष्टाचारको आरोप लगाएका निर्देशक गणेशबहादुर चन्द, कामु निर्देशक कर्णबहादुर थापा अनि निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजाललाई पनि विशेष अदालतले सफाइ दिएको छ ।
गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले मस्यौदामात्रै तयार पारेर महाप्रबन्धकलाई पेश गरेको आधारमा मात्रै उनीहरु दोषी हुन नसक्ने व्याख्या गरेको हो ।
उपसमितिका आठ कर्मचारीको पनि बदनियत नदेखिएको ठहर
अख्तियारले थप आठ कर्मचारीमाथि भ्रष्टाचारको आरोप लगाएको थियो । निगमका नायव महाप्रबन्धक रमेशबहादुर शाह, निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, उमेश पौडेल र वृहतमान तुलाधरमाथि विमान खरिद उपसमितिमा बसेर बदनियतपूर्वक काम गरेको आरोप थियो ।
विशेष अदालतले प्रस्ताव खोल्ने र मूल्यांकन गर्ने क्रममा उक्त समितिमा रहेकाहरुले बदनियतपूर्वक काम गरेको नदेखिएको भन्दै आरोपबाट सफाई दिएको हो ।
अख्तियारले विमान ल्याउने र रकम भुक्तानीको क्रममा जोडिएका विदेशी कम्पनी र तिनका प्रतिनिधिहरु गरी आठ जनालाई प्रतिवादी बनाएको थियो । दुईजना बाहेक सबै भ्रष्टाचारी ठहर भएका छन् ।
वाइडबडी विमान खरिदमा रकम भुक्तानीको कारोबारमा भूमिका खेलेको आरोप खेपेको नर्टन रोज फुलब्राइट जर्मनीले भने सफाइ पाएको छ । उक्त कम्पनीका हेड अफ एभिएसनका मार्कुस र्याडब्राच र वरिष्ठ परामर्शदाता राल्फ स्प्रिङगर विशेष अदालतमा उपस्थित नभए पनि सफाइ पाए ।
‘यी आरोपितहरु विवादित खरिद प्रक्रियामा प्रत्यक्ष वा परोक्ष संलग्न रही काम गरेको देखिन नआएको’ संक्षिप्त आदेशमा भनिएको छ, ‘निगम र एएआर कर्पविच खरिद बापतको रकम भुक्तानी गर्ने क्रममा एजेन्टको रुपमा रहेकोसम्म देखिदा आरोप दावी प्रमाणबाट पुष्टि हुन आएन । सफाइ पाउने ठहर्छ ।’
प्रतिक्रिया दिनुहोस्