राष्ट्रपति रामचन्द्र पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं, २७ पुस। आज राष्ट्रि एकता दिवस तथा पृथ्वी जयन्ती । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत समेत अर्पण गरेको थियो ।

पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । राप्रपा लगायत विभिन्न पार्टी तथा संघ संस्थाहरुले आज विभिन्न कार्यक्रम आयोजना गरि पृथ्वी जयन्ती मनाईदै छ ।

प्रतिक्रिया दिनुहोस्