यो सरकारले पनि भूमि सम्बन्धी समस्या समाधान नगरे देश वर्वाद हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउदै किसानका छोराछोरी नै मन्त्री हुँदा पनि भूमि सम्बन्धी समस्या हल नभए देश वर्वाद हुने कुरा बताएका छन् ।

माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले पनि भूमी सम्बन्धी समस्या समाधान गर्न सकिएन भने देश वर्बाद हुने र राष्ट्रकै अस्तित्व खतरामा पर्छ भन्ने चिन्ता छ ।’

उनले भू–उपयोग नीति बनेको तर कानूनको अभाव हुँदा कार्यान्वयनमा ढिलाई भएको बताउँदै उनले अहिले आफूहरु कानून निर्माणको प्रक्रियामा रहेको उल्लेख गरे । उनले भने, ‘हामी सबैको एउटै मुद्दा र उद्देश्य छ । जुन कृषि र भूमिको समस्या समाधान गर्नु हो । आधारभूत कुरा भनेकै भूमि व्यवस्थापन हो ।’

देशमा राजनीतिक स्थायित्व आवश्यक रहेकोले आफूहरु त्यसको लागि अगाडि बढेको प्रस्ट्याउँदै अध्यक्ष प्रचण्डले भने,  ‘पार्टी एकताको लागि सबै तयारी भईसकेको छ । घोषणा गर्न मात्र बाँकी हो ।’ सकेसम्म छिटो पार्टीलाई एउटै बनाउने र साझा घोषणापत्र लिएर आफूहरुले जनता माझ गरेका संकल्पलाई कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताए ।

उनले सुकुम्वासी भूमी सम्बन्धी तमाम समस्याहरु समाधान गर्न कृषि मन्त्रालय र भूमि व्यवस्थापन र पशुपंछि मन्त्रालय सबै एकै ठाउँमा आएको बताए । किसानको मुद्दा समाधान गर्न यो सरकार कटिवद्ध रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्