मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिक मात्रै हुने , गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैसाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिएका हुन्।

उनले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामका अलावा मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए। गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुरधाम आउने कार्यक्रम पनि रहेको जानकारी दिए।

उनले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट पारे। गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको बताए।

उनले मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्