जीर्णोद्धारमा सहयोग गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थालाई बुद्धमूर्ति उपहार

काठमाडौँ, १४ जेठ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भू चैत्यको जीर्णोद्धारमा महत्वपूर्ण योगदान गरेका पूरातत्व विभाग, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०लगायत विभिन्न संस्थालाई सम्मान गरेको छ।

महासमितिद्वारा यहाँ अयोजित कार्यक्रममा
ताम्रपत्रसहित बुद्ध मूर्ति उपहारस्वरूप प्रदान गरेको हो। विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्यमा क्षति पुगेको चैत्य करिब रु ५० लाखको लागतमा त्यसको जीर्णोद्वार सम्पन्न गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेशसरश श्रेष्ठले ती संस्थालाई सम्मान गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत महत्वपूर्ण सम्पदास्थल स्वयम्भूको संरक्षणले अन्तर्राष्ट्रिय तहमा प्राचीन बौद्ध सभ्यताको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

जीर्णोद्धार पूरा गर्न संलग्न संस्थाको सराहना गर्दै उहाँले विश्व शान्ति तथा मानव कल्याणका लागि बौद्ध साहित्य र दर्शनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले बौद्ध उपदेश तथा शिक्षाका प्रवर्द्धनका लागि ऐतिहासिक सम्पदा स्थलको महत्व हुने विचार व्यक्त गर्नुभयो।

महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर तथा त्यस आसपास क्षेत्रको संरक्षणमा गरिएका गतिविधिबारे जानकारी गराउनुभयो ।
विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासचिव अशोक बज्राचार्यले बताउनुभयो।
महासमितिका इञ्जिनियर राजेश सुवालले स्वयम्भूको ऐतिहासिक तथा प्राविधिक पक्षमाथि प्रकाश पार्नुभयो।

काठमाडौँ महानगरपालिका–१५ मा पर्ने उक्त चैत्य पुरातत्व विभाग र महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब एक सय छ मिटर अग्लो छ ।

यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।

संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ । विश्वशान्ति तथा मानवकल्याणको उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुने गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्