नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सकियो, विवाद भने सकिएन !

काठमाडौं। तीन तहको निर्वाचनमा पराजयको जिम्मेवारी पार्टी केन्द्रीय कार्यसमितिले लिने निर्णय गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले लिने निर्णय गरेको हो ।

निर्वाचनमा पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने तीव्र माग उठे पनि सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि केन्द्रीय समितिले नै लिने निर्णय गरेको हो । बैठकले निर्वाचन हार्नुमा वाम गठबन्धन र मधेसमा मधेस केन्द्रित दलको गठबन्धनलाई प्रमुख कारण मानेको छ ।

त्यसैगरी भारतले लगाएको नाकाबन्दीबाट पीडित नागरिकको मत वाम गठबन्धनले लिएको कांग्रेसको ठहर छ । यी वाहेक पार्टीको उम्मेदवारी चयन प्रक्रियामा पर्याप्त गृहकार्य नहुनु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएका उम्मेदवारका पक्षमा कतिपय स्थानमा निस्कृयता, असहयोग र अन्तर्घात हुनु, पार्टीको संरचनालाई पूर्णता दिई संगठनात्मक गतिविधिलाई तिव्रता दिन नसक्नु, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न नसक्नुलाई पनि बैठकले पराजयको कारण भएको ठहर गरेको छ ।

यसैबीच बैठकले प्रष्ट कार्यदिशा तय गर्न नसकेको भन्दै संस्थापनइतर पक्षले भने असन्तुष्टि जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय समिति बैठकमा प्रस्तावसमेत नबाँडी बहुमतका आधारमा निर्णय लिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन समीक्षा नसकिएको भन्दै सैद्धान्तिक बहसलाई महासमिति बैठकसम्म लैजाने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्