महिना दिनमै एनआइसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं, ३० चैत । चैतमा अन्य बैंकहरुले ब्याजदर घटाउदा एनआइसी एशिया बैंकले भने सबैभन्दा धेरै ब्याजदर बढाएको थियो तर बैशाखमा नै एनआइसी एशिया बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ।

एनआइसी एशिया बैंकको नकारात्मक हल्लाले गर्दा बैंकको ठूलो रकमको निक्षेप बाहिरिएको थियो। जसले गर्दा बैंकको ३ महिनामा नै करिब ४३ अर्ब निक्षेप बाहिरिएको थियो।

निक्षेप बाहिरिएपछि आफ्नो निक्षेप बाहिरिन नदिन र अन्य बैंकको निक्षेपकर्तालाई पनि आकर्षक ब्याजदर दिएर आकर्षित गर्न बैंकले वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै ब्याजदर बढायो। चैतमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.५४ प्रतिशतले बढाएको थियो भने संस्थागत मुद्दती निक्षेपमा १.५४ प्रतिशत विन्दुले बढाएको थियो।

चैतमा पनि बैंकको निक्षेप खासै धेरै बढ्न सकेको छैन। अर्थमन्त्रालयले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गर्दा सबैभन्दा धेरै असर एनआइसी एशिया बैंकलाई नै परेको छ। किनभने स्थानीय तहको पैसा गणना गर्न पाँउदा सबैभन्दा धेरै निक्षेप एनआइसी एशिया बैंकले नै पाएको थियो।

बैशाखदेखि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ०.७९ प्रतिशत विन्दु र संस्थागत मुद्दती निक्षेपमा ०.८४ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेको छ।

पछिल्लो केहि समयदेखि एनआइसी एशिया बैंकले ब्याजदर घटबढको ट्रेण्डलाई नै लिड गरिरहेको अवस्था थियो। ब्याजदर बढ्ने बेलामा पनि एनआइसी एशिया बैंकले नै सबैभन्दा पहिला ब्याजदर बढाउने र घट्ने समयमा पनि एनआइसी एशिया बैंकले सबैभन्दा पहिले नै ब्याजदर घटाउने गरेको थियो। अन्य बैंकले पनि एनआइसी एशिया बैंककै ट्रेण्डलाई पछ्याउने गरेको थियो।

ब्याजदर बढ्दा पनि बैंकहरुमा ब्याजदर खोसाखोसको अवस्था आउने गरेको थियो भने घट्दा निक्षेपकर्तालाई नै निरुत्साहित हुने गरि घटाउने गरेका थिए।

यसपटक भने एनआइसी एसिशया बैंकलाई अन्य बैंकले नपछ्याउदा बैंकले फेरि ब्याजदर घटाएको छ। अहिले बैंकहरुमा तरलता अधिक रहेको कारण अधिकाँश बैंकले ब्याजदर घटाउने नीति नै लिएको देखिन्छ। जसले गर्दा एनआइसी एशिया बैंकले पनि पुनः ब्याजदर घटाएको हो।

कुनै बैंकमा निक्षेप घटेर गएमा मात्रै ब्याजदर बढाउने पक्षमा बैंकरहरु रहेका छन्। निक्षेप घट्दा लगानीयोग्य रकम कम हुने भएकोले त्यस्ता बैंकहरुले निक्षेपकर्तालाई अन्य बैंकमा जान नदिन ब्याजदर केहि बढाएका छन्। अधिकाँश बैंकमा लगानीयोग्य रकम प्रयाप्त भएको तर कर्जा भने सोचेअनुसार नगएकोले धेरै बैंकहरु अहिले पनि ब्याजदर घटाउने पक्षमा नै देखिएका छन्।

अहिले कर्जा विस्तार नबढेसम्म निक्षेपको ब्याजदर नबढाउने पक्षमा बैंकरहरु देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्