कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? चिकित्सकको सुझाव–‘धेरै भीडभाडमा नजानू’

काठमाडौं प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मकरूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाव दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भीडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ ।

दैनिक हुने भेटघाट र कार्यक्रमको भीडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाव हामीले दिएका छौं’–उनले नयाँ पत्रिकासँग भने ।

अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिबेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भीडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए ।

उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाव दिएका छन् । भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए ।

‘देशले अहिले प्रधानमन्त्रीलाई आराम गर्न छुट त दिएको छैन’–उनका निजी चिकित्सकले भने–‘संक्रमणको उच्च जोखिममा परेर पनि प्रधानमन्त्रीले देश र जनताका हरेक गतिविधिमा संलग्न हुनुपरेको छ ।’

प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो । तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाव दिएको चिकित्सकले बताए ।

चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि ओलीलाई जुनसुकै समयमा संक्रमण हुनसक्ने बताए । अहिले कामभन्दा बढी आराममा ध्यान दिनुपर्ने, दिनमा कम्तीमा दुई लिटर शुद्ध पानी पिउनुपर्ने, शरीरले पचाउनसक्नेमात्रै खाना खानुपर्ने र धेरै समय खालीपेट बस्न नहुने चिकित्सकहरू बताउँछन् ।

हरेक २ घन्टामा पिसाब फेर्नुपर्ने, ४ घन्टामा खाजा खानुपर्ने, ६ घन्टामा आराम गर्नुपर्ने र ८ घन्टामा खाना खानुपर्ने नियम अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको छ । चिकित्सककाअनुसार नेपालीले सम्मानस्वरूप नमस्कार गर्ने तरिका नै वैज्ञानिक छ । हातबाट चाँडै संक्रमण फैलन्छ । त्यसैले चिकित्सकहरूले प्रधानमन्त्रीलाई नमस्कारबाटै काम चलाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्