निजी क्षेत्रबाट नै ३ सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बन्दै

काठमाडौं २१ चैत । नेपालमा पहिलो पटक निजी क्षेत्र टाईम्स इनर्जीको लगानीमा तीन सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढेको हो। यो निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा जलविद्युत आयोजना अघि बढ्ने कम्पनीले जनाएको छ । मंगलवार विद्युत नियमन आयोगमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुराको जानकारी गराइएको छ । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले शुरुवातमा लगानीकर्ताहरु उत्साहित हुने, समयमै आयोजना सम्पन्न गछौं भनेर प्रतिवद्धता व्यक्त गर्ने र अनुमानित लगानीमै आयोजना सम्पन्न गर्ने कुरा बताए पनि निर्माण गर्दै जाँदा कम्पनीहरुले समय लागत थप्ने, लगानी बढाउने गरेको पाइएको हुँदा बुढीगण्डकी जलविद्युत आयोजना यस्तो कार्य नदोहोयाउन निर्देशन दिए । हाल जलविद्युत क्षेत्रमा उत्साहको वातावरण बनेको नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले पनि दाबी गरेका छन् । निजी क्षेत्रलाई जलविद्युतको लाइसेन्स पाउन विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको उनको भनाइ छ ।

आयोजनाको पावर पर्चेज एग्रीमेन्ट (उर्जा खरिद बिक्री सम्झौता) पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा फाइल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिए । प्राधिकरणसँग पीपीए भएपछि आयोजना कार्यान्वयन जाने निर्देशक ढकालले बताए । टाईम्स इनर्जीको लगानीमा सन् २०३० सम्ममा आयोजना पूरा भइ व्यावसायिक उत्पादनमा जाने टाइम्स इनर्जीका अध्यक्ष दीपक मल्होत्राले बताए । प्रतिमेगावाट १६ करोड लागतमा आयोजना प्रस्ताव गरिएको छ ।

यो परियोजनामा व्यवसायी दिपक मलहोत्रा लगायत व्यवसायीहरुको लगानी रहेको छ । यसको कुल लागत ५५ अर्ब ५७ करोड छ । व्यवसायीहरुको लगानी रहेको सो प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको विषयमा मंगलबार विद्युत विकास विभागमा सार्वजनिक सुनुवाइ भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरुले पर्यावरणीय सवालमा आयोजना गम्भीर बन्न सुझाएका थिए । सरोकारवालाहरुले पर्यावरणमा गम्भीर नबन्दा आयोजना प्रभावित बन्ने मात्रै नभई स्थानीयले विपत्ति भोगेको स्मरण समेत उनले गराएका थिए । जिज्ञासाको जवाफ दिँदै मल्होत्राले यस विषयमा आफू गम्भीर रहेको प्रष्ट्याएका थिए ।

यो आयोजना पिकिङ रन अफ द रिभर प्रकृतिको हुनेछ । गोरखाको धार्चे १ र चमुनुब्री ३ मा आयोजना निर्माण हुनेछ । आयोजनाको विषयमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्राविधिक परामर्शदाता प्रेम केसीले आयोजनाको प्राविधिक र लागतको विषयमा प्रस्तुतीकरण गरेका थिए । आयोजनाका प्रवर्द्धक तथा टाईम्स इनर्जीका संस्थापक अध्यक्ष सीएम बाँस्कोटाले उठेका सवालहरुको जवाफ दिएका थिए । यस निजी क्षेत्रको सबैभन्दा ठुलो आयोजना समयमा सम्पन्न भएमा नेपालको जलविद्युतमा थप टेवा पुग्ने छ, निजी क्षेत्रका लगानीकर्ता थप उत्साहित हुनेछन् र रोजगारीको पनि सिर्जना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्