देशलाई विकासको बाटोमा डोर्याउन सके मनमोहनप्रति सच्चा श्रद्धाञ्जली: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन, पुष्पलाल र मदन मण्डारीको पथलाई नहिड्ने कम्युनिष्ट बन्न नसकिने बताएका छन् । नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योगदान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।
ओलीले भने, ‘हामी स्पष्ट उद्देश्यका साथ देशलाई अगाडि बढाउन लागि परेका छौं। स्पष्ट उद्देश्यका साथ देशलाई विकासको बाटोमा डोर्याउन सके नेपालको कम्युनिस्ट आन्दोलन सार्थक हुनुका साथै मनमोहनप्रति सच्चा श्रद्धाञ्जलि हुने छ।’
ओलीले माओवादी केन्द्रसँग एकता हुन्छ की हुँदैन भन्ने आशंका नगर्न आग्रह गर्दै ढीलो चाडो पार्टी एकता भएरै छोड्ने समेत बताए।
मनमोहन पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै राजनीतिमा सक्रिय थिए। भारत छोड आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए । सोही क्रममा उनको भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क हुन पुग्यो र उनी कम्युनिष्ट पार्टीमा संगठित भए ।
राजनीतिक संघर्षकै क्रममा उनले १७ वर्ष जेल जीवन बिताए । अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए।
विक्रम संवत १९७८ सालमा काठमाडौंमा जन्मेका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस्