अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार, प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
बिहीबार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’
उनले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै उनले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६र७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’
शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष दाहालको भनाइ थियो ।
उनले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे ।
अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस्