राष्ट्रपतिकै सकृयतामा चुँदी रम्घा डाँडामा भानु साहित्य उद्यान बन्दै
काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई नेपाली राष्ट्रिय एकताको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ ।
राष्ट्रपतिकै विशेष चासो र सकृयतामा चुँदी रम्घा क्षेत्रलाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलको रुपमा विकास गर्ने योजना सहित गुरुयोजना निर्माण प्रकृया अघि बढाइएको हो । जसका लागि विसं २०७८ मा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख संरक्षक रहने गरि भानु साहित्य उद्यान नामक संस्थाको स्थापना गरिएको थियो । सो संस्थाले गुरुयोजना सम्पन्न गर्नका लागि ४ सय रोपनीभन्दा बढी जग्गा प्राप्तिको प्रकृयासमेत अगाडि बढाइ सकेको छ ।
गुरुयोजना अनुरुप रम्घाकोटको शिखरमा एक सय फिट उचाइको भानुभक्त आचार्यको विशाल प्रतिमा स्थापना गरिने छ । जसको स्वरुप हाल प्रचलित फोटो अनुरुपनै रहने बताइएको छ । सोही कोटमा भानुभक्तको कृतित्वलाई सजीव बनाउने परिकल्पनाका साथ विशाल रामायण मन्दिरको समेत स्थापना गरिने भएको छ । जहाँ मन्दिरको केन्द्रमा राम र सीताको मूर्ति रहने, मन्दिरका भित्तामा रामायणका सातै काण्ड, लघुकति, फुटकर कविता, चित्रकला तथा मूर्तिकलाहरु रहने भानु साहित्य उद्यानका उपाध्यक्ष प्राडा व्रतराज आचार्यले बताए ।
नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलकै रुपमा विकास गर्ने गुरुयोजना रहेकोले सो क्षेत्रमा मूर्ति वाटिकासमेत रहनेछ । जसमा नेपाली भाषा, साहित्य, संस्कृति र कला क्षेत्रका स्रष्टाहरूको मूर्ति पनि स्थापना गरिनेछ । यसका साथै भानु साहित्य ग्रामको पनि निर्माण हुनेछ । जसमा परम्परागत शैली झल्काउने सुविधासम्पन्न आवास गृह, सिर्जनात्मक कार्यका निम्ति आवास, साहित्य ग्रामका निम्ति रम्घाकोटको दक्षिणको जग्गा प्रस्तावित स्थानीय जातीय पहिचानका घर, रम्घाका ब्राह्मण र दलित समुदायका नमुना घर तथा रम्घाकोटका गुरुङ, मगर, घर्ती, नेवार समुदायका नमुना घर र तिलाहारका रानाभाटका नमुना घरसमेत निर्माण हुने भानु साहित्य उद्यानका अर्का उपाध्यक्ष काशीराज आचार्यले बताए ।
गुरुयोजना अनुरुप चुँदी रम्घाकोटमा २ सय क्षमताको भानु प्रज्ञा भवनको पनि निर्माण गरिनेछ । भानुभक्तसँग सम्बन्धित सामग्रीहरू संरक्षण गर्न तथा भाषा, साहित्य, संस्कृति सम्बन्धि गतिविधिहरू सञ्चालन गर्न सो भवन निर्माण गरिनेछ । जहाँ दुई साना सेमिनार हल, पुस्तकालय र सङ्ग्रहालय समेत रहनेछ ।
गुरुयोजनामा अर्को आकर्षणको रुपमा सप्तधाम रहेको छ । उद्यानलाई समग्र नेपाली संस्कृति झल्कने लघुसंरचनाका रूपमा विकास गर्न नेपालको भूवनोट अनुसार हुनेगरि सप्तधाम निर्माण गरिन लागेको हो । जहाँ सातै प्रदेशका प्रमुख धार्मिक÷सांस्कृतिक धाम निर्माण गरिनेछ । जसअन्तर्गत कोशीप्रदेशको बराहक्षेत्र धाम, मधेश प्रदेशको जनकपुरधाम, बाग्मती प्रदेशको पशुपतिनाथ धाम, गण्डकी प्रदेशको मुक्तिनाथ धाम, लुम्बिनी प्रदेशको लुम्बिनी धाम, कर्णाली प्रदेशको चन्दननाथ धाम र सुदूरपश्चिम प्रदेशको बैद्यनाथ धाम रहनेछ । सो सप्तधाममा तत्तत् प्रदेशका संस्कृतिक पहिचान झल्कने संरचनासमेत निर्माण हुनेछ । यसका साथै, गुरुयोजना भित्र भानु बोटानिकल गार्डेन, मनोरञ्जन तथा वनभोज स्थल, स्थानीय पदमार्ग, प्राकृतिक वन–विचरण क्षेत्र आदि पनि रहनेछ ।
यसै सन्दर्भमा भानु नगरपालिका र भानु साहित्य उद्यानले राष्ट्रपति निवासमा आयोजना गरेको एक विशेष कार्यक्रमकामा भानु साहित्य उद्यानका उपाध्यक्ष प्राडा. व्रतराज आचार्य र काशीराज आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गुरुयोजनाको अवधारणापत्र प्रस्तुत गरे । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँ क्षेत्र सप्तगण्डकी क्षेत्रसमेत रहेकोले सात प्रदेशको सात धाम बनाउने कुरा प्रशंसायोग्य रहेको बताए । गुरुयोजनाप्रति खुशी व्यक्त गर्दै राष्ट्रपति पौडेलले चुँदी रम्घा क्षेत्र समग्र नेपालीले गौरव गर्न लायक र साहित्यप्रेमीहरुका लागि पवित्र तीर्थस्थलको रुपमा विकास हुनेमा आफू ढुक्क रहेको बताए । उनले तनहुँ जिल्लामा धार्मिक पर्यटन, साहित्यिक पर्यटन, प्राकृतिक पर्यटन तथा ऐतिहासिक पर्यटनको प्रचुर सम्भावना रहेको र त्यसलाई यही गुरुयोजनाले पूर्ण गर्ने विश्वाससमेत व्यक्त गरे । राष्ट्रपति पौडेलले चुँदी रम्घाको विकास र भानुभक्त आयार्यको योगदानलाई संरक्षण र प्रवद्र्धन गर्न भानुु साहित्य उद्यानसहित पश्चिमाञ्चल विकास समिति र भानु जन्मस्थल विकास समितिसमेत मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा भानु साहित्य उद्यानका प्रथम उपाध्यक्ष विजयराज भट्टराईले तिसौं वर्षसम्म विकास हुन नसकेको चुँदी रम्घा क्षेत्रलाई यसै गुरुयोजनाले कायापलट गरिने बताए । जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलकै अभिभावकत्वमा काम गर्न पाएकोमा र गुरुयोजनाको परिकल्पनाकारकै रुपमा राष्ट्रपतिलाई पाउँदा आफूहरु थप गर्ववान्वित भएको बताए ।
कार्यक्रममा तनहुँ स्थायी घर भई विभिन्न जिल्लाबाट निर्वाचनमा विजयी सांसदहरुको समेत उपस्थिति थियो । जसअन्तर्गत संघीय सांसद प्रदीप पौडेलले गुरुयोजनामा भौतिक संरचनाको निर्माणसँगै भानुभक्तको योगदानलाई डिजिटलाइज गर्न पनि आवश्यक रहेको बताए ।
उनले यसको विकास र प्रवद्र्धनमा आफू कटिबद्ध भएर लागी पर्ने बताउँदै राष्ट्रपति कम्तिमा पनि वर्षमा एक पटक चुँदी रम्घा पुगि यसलाई राष्ट्रिय पर्वको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । त्यस्तै सांसद कृष्णकुमार श्रेष्ठले गुरुयोजना राष्ट्रले नै गौरव गर्ने खालको भएको हुँदा यसलाई सम्पन्न गर्न ठूलो आर्थिक स्रोतको आवश्यकता पर्ने भएकोले सबैले सहयोग गर्नुपर्ने र त्यसमा राष्ट्रपतिको विशेष पहलकदमी आवश्यक हुने बताए ।
कार्यक्रममा अर्का सांसद शिशिर खनालले पनि भौतिक संरचनाको निर्माणसँगै यसलाई डिजिटल्ली ब्रान्डिङ र प्रमोशन गर्न आवश्यक रहेको बताए । जसअन्तर्गत रामायणलाई प्रयोग गरेर अयोध्या, जनकपुर र भानुलाई ब्रान्डिङ गर्नुपर्नेमा उनको जोड थियो । सोही कार्यक्रममा उपस्थित पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले विकासको नाममा पुराना सम्पदाहरु मास्न नहुने र त्यसैको संरक्षणले मात्रै चुँदी रम्घा विश्वमाझ परिचित हुनेमा जोड दिइन । उनले नेपाल सरकारले सम्पदा प्रभाव मुल्याङ्कन कार्यविधि बनाएको बताउँदै सोही अनुरुप संरचना निर्माण गर्नुपर्नेमा जोड दिइन । यस्तै, पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष मदन महत तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष क्रृषिराम पन्तले गुरुयोजनाप्रति प्रशंसा व्यक्त गर्दै आफूहरु पनि यसमा प्रत्यक्ष संलग्न रही काम गर्न इच्छुक रहेको बताए । यस्तै, साहित्यकार एवं नेपाल स्रष्टा समाजका सल्लाहकार विधान आचार्यले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा रहेको साहित्य उद्यानको अवधारणाले पूर्णता पाउनेमा आफु विश्वस्त रहेको बताए।
कार्यक्रम आयोजक संस्था भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु चुँदी रम्घामा यो खालको गुरुयोजना बन्नु आफूहरुको सौभाग्य भएको भन्दै आफ्नै कार्यकालमा यो काम सम्पन्न गर्न रातदिन खटेर काम गर्ने बताए । गुरुयोजना निर्माणमा राष्ट्रपतिको योगदानको प्रशंसा गर्दै नगर प्रमुख त्रिपाठीले उहाँकै प्रेरणामा आफूले काम गर्ने र कुनैपनि कमि कमजोरी नगरी समयमै गुरुयोजना सम्पन्न गर्न आफूसहित सम्पूर्ण नगरपालिकाको टिम लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । भानु साहित्य उद्यानलाई संसारभरका नेपाली भाषीहरुको उनुसन्धान, अध्ययन र साहित्यिक पर्यटनको हवको रुपमा निर्माण गर्ने सोचलाई कार्यानवयन गर्ने प्रतिवध्त्ता व्यक्त गर्नुभयो ।
नगरपालिककै प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले चालु आर्थिक वर्षमा नेपाल सरकारबाट थप ५ करोड रुपैयाँ निकासा भएको जानकारी गराउँदै सो रकम जग्गा अधिग्रहणका लागि खर्च गरिने बताए । उनले गुरुयोजनामा प्राप्त सबैको सुझावलाई मनन गर्दै तीव्र कार्यान्वयनमा लैजाने पनि प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत सुनिल पाण्डेले देशभरिका स्रष्टा र प्राज्ञिकहरुलाई आ–आफ्नो तर्फबाट गुरुयोजना कार्यानवयन गर्न योग्य र उत्कृष्ट दस्तावेजको रुपमा निर्माण तर्जुमा गर्ने काममा सुझाव दिएर योगदान पुर्याउन सम्बधित सबै विज्ञहरुलाई हार्दिक अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्