अब मन्त्री फेर्ने कि प्रधानमन्त्री ?

काठमाडौं, २१ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने चाहना राखिरहेको बेला गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री बदल्ने सार्वजनिक अभिव्यक्ति दिएर राजनीतिक तलाउमा एक पटक फेरी ढुङ्गा हानेका छन् ।

प्रधानमन्त्रीले पुस १० गते मन्त्री परिवर्तन गरेर सरकारलाई थप प्रभावकारी र चलायमान बनाउने भनी दिएको अभिव्यक्तिलाई कडा चुनौती दिँदै गठबन्धनकै नेताहरू प्रधानमन्त्री नै बदल्ने भन्न थालेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले मन्त्रीहरू फेरबदल गर्न आनाकानी गरेपछि प्रधानमन्त्री प्रचण्डको मन्त्री परिवर्तन गर्ने योजनामा तुषारापात लागेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने नेता डा. शशांक कोइरालाले सरकार असफल भइसकेकाले तत्काल प्रधानमन्त्री फेरेर सत्ता गठबन्धन सम्बद्ध दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारण हालै एक सार्वजनिक कार्यक्रममा व्यक्त गरेका छन् ।

सत्ता गठबन्धन सम्बद्ध नेताहरूले गठबन्धनमा प्रचण्ड २ वर्ष, नेपाल १ वर्ष र कांग्रेस सभापति देउवा २ वर्ष आलोपालो प्रधानमन्त्री हुने ‘भद्र सहमति’ भएको बताउँछन् । यसरी हेर्दा प्रधानमन्त्री प्रचण्ड अझै ११ महिना मजाले पदासीन नै रहने देखिएको छ ।

यस विपरीत अभिव्यक्तिहरू आउँदा गठबन्धनमा कतै गडबडी भएको त होइन भन्ने आशङ्का बढेको छ । तर गठबन्धन दलका संस्थापन पक्षधर यो आशङ्काको पछि नलाग्न सुझाव दिन्छन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा प्रधानमन्त्री फेर्नुपर्छ भन्ने पार्टीका नेताहरूको अभिव्यक्ति सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि ठान्छन् । तर, पार्टी सभापति तत्काल प्रधानमन्त्री बदल्ने पक्षमा नरहेको उनको भनाई छ ।

‘राजनीतिक गतिविधिहरू सन्तुलित ढङ्गबाट अगाडि बढेनन् । ज्यादा स्टन्टबाजीमात्रै भइरह्यो भन्ने हाम्रा नेताहरूको गुनासो हो । तर सभापति सहमतिमै जाऔँ, सहमति तोड्न नखोजौँ । प्रचण्डको अव धेरै छैन, एक वर्ष हो, त्यो समय चलाउन दिऔँ भन्नेमा हुनुहुन्छ’, नेता विश्वकर्माले भने ।

पार्टी अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको अफर आइरहेको बेला नेकपा (एकीकृत समाजवादी) का नेता भने गठबन्धनमा भएको सहमति यताउति नहुने बताउँछन् । ‘कांग्रेस र माओवादीको बिचमा के के हिसाबकिताब मिलाउनुपर्छ त्यो उहाँहरूले नै मिलाए भयो’ प्रधानमन्त्री फेर्ने कांग्रेसका नेताहरूको अभिव्यक्तिमा कटाक्ष गर्दै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘तर, जति चाँडो माधवकुमार नेपाले प्रधानमन्त्रीको जिम्मेवारी लिन पाउनुहुन्छ उति छिटो मुलुकले काँचुली फेर्छ’ उनले थपे ।

प्रधानमन्त्रीकै दल नेकपा–माओवादी केन्द्रका नेताहरू प्रधानमन्त्री बदल्ने विषयले गठबन्धनका पार्टीहरू र गठबन्धनकै बैठकमा प्रवेश नपाएको बताउँछन् । माओवादी केन्द्रका महासचिव देव गुरुङले ‘गठबन्धनको सहमतिबारे नेताहरूले केही नभनेको’ बताए । कुनै अन्डरस्ट्यान्डिङ गर्नुभएको छ भने त्यो फरक कुरा हो’, उनले भने ।

कांग्रेसले मन्त्री परिवर्तनका लागि भने फागुन दोस्रो सातासम्म कुर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । विश्वकर्माका अनुसार गठबन्धनमा आलोपालो प्रधानमन्त्री बन्ने सम्बन्धमा भएको सहमति कांग्रेसका पक्षबाट तोडिँदैन ।

‘तर बिचमा सानो पार्टीलाई प्रधानमन्त्री दिँदा प्रचण्डले त चलाउन सकेनन् भन्ने स्थिति हुनसक्छ । बरु इलेक्सन माधव नेपाललाई गर्न दिने हुनसक्छ । तर त्यसका निम्ति अर्को भद्र सहमति हुन जरुरी छ’ उनले भने । देउवा पनि सहमति तोड्ने पक्षमा नरहेको विश्वकर्माले जनाए ।

प्रतिक्रिया दिनुहोस्