कारोवारमा फेरी नयाँ रेकर्ड, मुनाफा बुकिङले गर्दा बाईससय माथि उक्लेको नेप्से तल झर्यो

काठमाडौं, ३ माघ । हाफ सेन्चुरीको वृद्धि एक दिन पनि टिक्न नसकेर सेयर बजार परिसूचक ओरालो लागेको छ। नेप्से बुधबार १२.१० अंकले घटेको हो। मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा झरेको छ।

मंगलबार ४.७५ प्रतिशले उकालो लागेको फाइनान्स उपसमूहको सूचक बुधबार ३.५१ प्रतिशतले ओरालो लागेको छ। यस्तै जलविद्युत उपसमूहको सूचक पनि २.८० प्रतिशतले घटेको छ।

खराब वित्तीय अवस्थाका घलेम्दी, दिव्यश्‍वरी लगायत हाइड्रोको सेयर मूल्य घटेको छ। दिव्यश्‍वरी हाइड्रोपावरको सेयर मूल्य ६.१५ र घलेम्दी हाइड्रोको २.०५ प्रतिशतले घटेको हो। यी दुई कम्पनीको सेयर मूल्य मंगलबार सर्किट लागेर बढेको थियो।

१८० कम्पनीका लगानीकर्ताले गुमाउँदा ६३ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

बैंक, विकास बैंक, लघुवित्त र अन्य उपसमूहको सूचक भने बढेको छ। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेको छ।

नेप्सेमा करेक्सन आउँदा २८ महिनायताकै उच्च कारोबार भएको छ। बुधबार ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम २०७८ भदौ २१ यताकै उच्च हो। त्यो दिन ९ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

नेप्से बजार खुलेको २ घण्टामा बढेर २२१५ अंकमा पुगेकामा त्यसपछि लगातार घटेर अन्तिममा २१६३.०६ विन्दु कायम भएको हो। बजारमा ६० अंकको उतारचढाव भएको छ। बजार बन्द हुनु २ मिनेटअघि नेप्से २१५५ विन्दुमा ओर्लिएको थियो।

विश्‍लेषकहरुले बुधबारको गिरावटलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताएका छन्। विश्‍लेषक सुवासचन्द्र ढुंगानाले प्रोफिट बुकिङका कारण बजारमा करेक्सन देखिएको बताए। ‘बजार धेरै बढेकाले आज प्रोफिट बुकिङ देखिएको हो। बजार बढ्दा हाइड्रोमा बाइ धेरै देखिएको थियो। आज हाइड्रोमा धेरै सेलिङ प्रेसर आयो। यस क्षेत्रका कम्मपनीको मूल्यमा गिरावटका कारण पनि नेप्सेमा दबाब परेको हो,’ उनले भने।

जलविद्युत मात्र होइन फाइनान्स, होटल, बीमा, लगानी लगायत क्षेत्रका कम्पनीमा पनि सेलिङ प्रेसर थियो।

केबिएल सेक्युरिटिजका सीइओविनय रेग्मीले पनि गिरावटलाई सामान्य करेक्सनका रुपमा लिएका छन्। छोटो समयमा सेयर बजार निकै बढेको थियो। ट्रेडरहरु प्रोफिट बुकिङतिर लाग्दा बजार घटेको हो,’ सीइओ रेग्मीले भने, ‘सेयरलोन सस्तो हुँदै जाँदा अहिले बैंकबाट बजारमा राम्रै पैसा आइरहेको छ। बैंकहरुले पनि सहजै ऋण दिइरहेका छन्। बेस रेट घटिरहेकाले ब्याजदर अझै घट्छ भन्ने बुझाइका कारण लगानीकर्तामा कन्फिडेन्स देखिंदा बजारमा कारोबारको भोलुम बढेको हो।’

प्रतिक्रिया दिनुहोस्