कांग्रेस कार्यसमिति बैठक समापनतिर, आरोप–प्रत्यारोप भने जारी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकसमापनतिरपुगेको छ ।गत चैत ९ गते सुरु भएको भएपनि बैठक भने सोमबार सम्ममा जम्मा ८ पटक बसेको छ ।
सोमबारको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुले समीक्षा बैठकको छलफल छोट्याएर साझा धारणासहित एकताबद्ध सन्देश दिनुपर्ने आवाज उठाएपछि बैठक समापन गर्ने तयारी गरिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बेलुकीसम्म चुनावी समीक्षा बैठक ठोस निष्कर्षका साथ टुंगिने सम्भावना रहेको बताए ।
सोमबारको बैठकमा पनि केन्द्रीय सदस्यहरुले निर्वाचनका सन्दर्भमा अहिलेसम्म उठ्दै आएका धारणाजस्तै आफ्ना राय राखेका छन् ।
बैठकमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप–प्रत्यारोप जारी नै रह्यो । सोमबार मध्याह्नसम्म ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।
सोमबार आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, केन्द्रीय सदस्य अम्बिका बस्नेत, रत्ना शेरचन, ध्यानगोविन्द रन्जित, किरण यादव, मानबहादुर विश्वकर्मा र अजयकुमार चौरसियाले आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रीय समितिमा हाल ८० सदस्य रहेका छन् ।
विधानअनुसार ८५ सदस्यीय हुने कार्यसमितिमा सभापतिले चारजना आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ भने एकजना निर्वाचित केन्द्रीय सदस्यको निधन भएकाले रिक्त छ ।
प्रतिक्रिया दिनुहोस्