वाणिज्य बैंकहरुले समयमा साधारण सभा नगर्ने, लाभांश नबाँड्ने कम्पनी सूचि बढ्दै

काठमाडौं १० पौष । हरेक वर्ष समयमै साधारण सभा गर्ने वाणिज्य बैंकहरुले नै यस वर्ष समयमा साधारण सभा नगर्ने भएका छन् । पुस ८ गतेसम्म साधारण सभाको सूचना प्रकाशन नगर्ने कम्पनीले पुस मसान्तसम्म साधारण सभा गर्ने छैनन् । कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनासम्म साधारण सभा गरिसक्नुपर्छ ।

कुनै पनि कम्पनीले साधारण सभा गर्न २१ दिन अगाडि नै सार्वजनिक सूचना प्रकाशित गर्नुपर्छ । जस अनुसार ४ वटा वाणिज्य बैंकले तोकिएको समयमा साधारण सभा नगर्ने भएका छन् । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंंक र कुमारी बैंकले पुस महिना भित्र साधारण सभा नगर्ने भएका हुन् ।

सरकारले बजेटमा कम्पनीहरुले प्रिमियमको एफपीओ र मर्जरको पर्चेज गेनलाई नाफा मानी त्यसमा कर तिर्नुपर्ने घोषणा गरेपछि त्यसको विरुद्धमा अदालत गएका थिए । सर्वोच्च अदालतले कम्पनीहरुको मुद्दा खारेज गरेपछि कम्पनीहरुले कर तिर्न बाध्य भएका थिए । गत आर्थिक वर्षभरि तरलता अभाव र आर्थिक मन्दी तथा रसिया युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभावका कारण कम्पनीहरुले प्रभावकारी प्रदर्शन गर्न सकेका थिएनन । बैक तथा वित्तीय संस्थाको सवालमा तरलता अभावको कारण निक्षेपको व्याज दर बढ्दै जानु एवम् सोही तुलनामा ऋणको माग नबढनु र ऋणीहरुले समेत समयमा ऋण र व्याज भुक्तानी गर्न नसक्दा खराब कर्जा बढ्न गएको थियो । खराब कर्जा बढ्दा धेरैजसो बैंक तथा वित्तीय संस्थाले गरेको नाफा प्रोभिजनमा छुट्याउनु परेका कारण वितरणयोग्य नाफामा समेत असर पर्यो जसको फलस्वरुप धेरै कम्पनीहरुले यस वर्ष लाभांश दिन सकेका छैनन ।

सूचीकृत १९ बैंकमध्ये १६ बैंकले गत आर्थिक वर्षसम्मको खुद मुनाफाबाट लाभांश घोषणा गरेका छन् । अब लाभांश घोषणा गर्न बाँकी बैंकहरूमा कृषि विकास, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमात्र छन् । यी तीनवटै बैंकले यसपटक लगानीकर्ताको हात खाली बनाउने देखिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार तीन वटै बैंकको वितरण योग्य मुनाफा एकदमै न्यून छ । त्यसमाथि प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सरकारले बजेटमार्फत लादेको करसमेत तिर्नुपर्दा झनै दबाबमा परेको छ । अहिलेसम्म कुमारी बैंक, एनएमबी बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले लगानीकर्तालाई कुनै लाभांश नबाँड्ने घोषणा गरिसकेका छन् ।

गत वर्षसम्म आकर्षक लाभांश बाँड्ने लघुवित्त पनि यस वर्ष बाड्न नसक्ने स्थितिमा छन् । १५ वटा लघुवित्तले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने घोषणा गरिसकेका छन् । हिमालयन, मनकामना स्माट, गुराँस, उपकार, सामुदायिक, फर्वाड, उन्नति सहकार्य, इन्फिनिटी, लक्ष्मी, सिवाईसीएल, गणपति, नाडेप, साधना, सबैको र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताको हात खाली पार्ने भएको छ ।

आर्थिक मन्दी र राष्ट्र बैंकको कडा नियमनका बीच लघुवित्तहरु लाभांश बाँड्न नसक्ने अवस्थामा पुगेका हुन ।

फाइनान्स कम्पनीहरुमध्ये गुहेश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, पोखरा फाइनान्स र गुडविल फाइनान्सले लगानीकर्ताको हात खाली गर्ने घोषणा गरिसकेका छन् ।

विकास बैंकतर्फ कामना सेवा विकास बैंक र ज्योति विकास बैंकले लगानीकर्तालाई कुनै लाभांश दिने छैनन् ।

होटल समूहमा सूचीकृत कम्पनीहरुमध्ये सिटी होटल, कालिञ्चोक दर्शन र चन्द्रागिरी हिल्सले लगानीकर्ताको हात खाली गर्नेछ ।

नेप्सेमा सबैभन्दा धेरै कम्पनी सुचीकृत हाइड्रोपावर समूहका अधिकांश कम्पनीले पनि लगानीकर्तालाई निराश बनाएका छन् । हरेक वर्ष जसो लाभांश बाँडिरहेको अरुण काबेली र अपी पावर जस्ता कम्पनीले पनि लगानीकर्तालाई लाभांश नबाँड्ने भएको छ । त्यसैगरी हिमालयन पावर पार्टनर, मकर जितुमाया सुरी हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, सानिमा मिडिल तमोर हाइड्रोपावर, सगरमाथा जलविद्युत, आँखुखोला जलविद्युत, नेसनल हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, एसियन हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरलगायतका हाइड्रोपावर कम्पनीले लाभांश नबाँड्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्