एमाले–माओवादीको संयुक्त कार्यक्रममा लफडा, छुट्यो लेनिनकै फोटो

काठमाडौँ । एमाले र माओवादीको आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर नभएकोले तनाव भएको छ ।

माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो ।

कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर हुटिङ गरेपछि त्यसमा माओवादी कार्यकर्ताले पनि साथ दिएका थिए ।

ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखेर आफ्नो पार्टीको अपमान गरिएको भन्दै कार्यक्रम शुरु हुन अघि उनी मञ्चमा गएर विरोध गरेपछि माओवादी कार्यकर्ताहरुले त्यसमा समर्थन जनाउँदै होहल्ला गरेपछि तनाव भएको हो ।

प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरु मञ्चमा आइपुगेका थिएनन् ।

हुटिङ जारी राखेपछि उर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले यो कार्यक्रम दुवै पार्टीले सहमतिमा आयोजना गरेको र यस्ता प्राविधिक विषयलाई ठूलो नबनाउन आग्रह गरेका थिए । पुनको आग्रहपछि पनि माओवादी कार्यकर्ताले हुटिङ गर्न छाडेनन् ।
त्यसपछि ब्यानरलाई त्यहाँबाट हटाएर उल्टो पारेर राखेपछि मात्र माओवादी कार्यकर्ताहरु शान्त भएका थिए ।

तर, त्यसपछि आपत्ति जनाउने पालो एमाले कार्यकर्ताको थियो । अखिल महासचिव ऐन महरले मञ्चमा पुगेर ब्यानर हटाइएको विषयमा आपत्ति प्रकट गरेका थिए ।

‘ब्यानर किन बनाइयो ? र, अहिले किन हटाइयो ? हामी हुटिङ गर्दैनौँ । तर, ब्यानर बिना कार्यक्रम गर्न दिँदैनौँ,’ महरले भने ।

प्रतिक्रिया दिनुहोस्