कांग्रेस केन्द्रीय समिति बैठक आजबाट, पदाधिकारीको टुंगो लगाउने देउवाको तयारी
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको समिक्षा बैठक आजदेखि पुनः सुरु हुने भएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नुका कारण को विषयमा समिक्षा जारी रहनेछ । समिक्षा बैठकमा अहिलेसम्म ४२ केन्द्रीय सदस्यले धारणा राखिसकेका र आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले महासमितिको बैठक बोलाउने र विधान संशोधन समिति बनाउनेबारे पनि निर्णय गर्नेछ ।
यसैबीच, छिटो पदाधिकारी मनोनीत गर्न दबाब परेपछि सभापति शेरबहादुर देउवाले बैठकबाटै पदाधिकारी टुंगो लगाउने तयारी गर्नुभएको छ । केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना छ ।
कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दासमेत गर्नसक्नु भएको छैन । नेतृत्वको सुस्त कार्यशैलीको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला देउवाले मनोनयनको तयारी गर्नुभएको हो ।
निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न गत चैत ९ गतेबाट कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्