६ महिनापछि मेलम्चीको पानी काठमाडौंमा : मन्त्री मगर

काठमाडौँ। खानेपानी मन्त्री बिना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकी छन्।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले राजधानी लगायत देशका प्रमुख सहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको जानकारी दिइन्।

‘छ महिनापछि मेलम्चीको पानी वितरण सुरु भएपछि राजधानीको खानेपानी समस्या समाधान हुन्छ,’ उनले भनिन्, ‘चार घन्टासम्म भए पनि पानी दिन सकिने अहिलेको अनुमान छ, मेलम्चीको १७ करोड लिटर पानी उपत्यकाका धेरै स्थानमा पुर्‍याउने मन्त्रालयको लक्ष्य छ।’

मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरैभन्दा धेरै घरमा वितरण गर्ने तयारी गरेको बताए।

कार्यक्रममा बोर्डका अध्यक्ष एवम् खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधानका लागि याङ्री र लार्केलाई पनि सफल रुपमा उपत्यका ल्याउनुपर्ने धारणा राखे।

मेलम्ची, याङ्री र लार्केको समेत पानी राजधानी ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा वितरण गरिन्छ। उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि २०६२ बैसाख ५ गते बोर्डको स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस्