ओली–प्रचण्डबीच वान टु वान वार्ता, भोलि एकता समितिको बैठक
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ ।
दुई बीच २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति भने हुन सकेन ।
स्रोतको अनुसार भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको जनाएको छ ।
प्रचण्ड र ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको छ ।
यसअघि यी विषयमा कार्यदलस्तरमा सहमति नजुट्दा शीर्ष नेतालाई सहमति गर्ने जिम्मेवारी दिइएको थियो । तर, विवादित विषयमा ओली र प्रचण्डबीच छलफल नै हुन सकेको थिएन । जसले गर्दा एकतामा अन्यौल थपिदै आएको थियो । यहि अन्यौल चिर्न दुई नेताबीच सोमबार वान टु वान वार्ता भएको हो ।
नेतहरुबीच एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यी बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कति जना रहने भन्ने मिलाउन कठिन छ । माओवादीमा झण्डै ४५ सय केन्द्रीय नेता छन् । ‘पार्टी एकताबारे कार्यदलस्तरमा सहमति भएका र नभएका विषयमा समेत शीर्ष तहमा झण्डै दुई सातायता छलफल हुन सकेको थिएन । जसले एकता प्रकृयामै प्रश्न उठन लागेको अवस्थामा दुई नेताबीचको भेटवार्ताले अर्थ नराख्ने कुरा नै हुदैन’ नेता सापकोटाले भने ।
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबारको वान टु वानपछि मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यहि बैठकमा सहमतिको प्रयास हुने एमाले नेता सुवास नेम्वाङले बताए ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । दुवै दलले अधिकांश बिषयमा सहमति बनिसकेको दाबी गरेपनि नेताहरुको व्यवस्थापन र निर्वाचन चिन्ह र जनयुद्ध शव्दमा कुरा नमिल्दा पछिल्लो समय एकता समितिको बैठक नै बस्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्