वाम एकता विवादः ओली प्रचण्ड निर्णायक छलफलमा बस्दै

काठमाडौँ । वैशाख ९ गते पार्टी एकता गर्ने लक्ष्यसाथ अघि बढेका दुई वाम दलबीच आज औपचारिक रूपमा छलफल अघि बढ्ने भएको छ। गत बुधबारदेखि लगातार रूपमा स्थगित हुँदै आएको एकता संयोजन समितिको बैठक निश्चित भएको छैन। आइतबार बैठक तय भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थगित गरेर सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार एकता प्रक्रिया लगायतका विषयमा छलफलका लागि दुई नेताबीच आज भेटवार्ता हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भेटको समय तय भएको छ।

सिन्धुपाल्चोकमा रहेका माओवादी केन्द्रका अध्यक्षसँगको परामर्शपछि दुई शीर्ष नेताबीच भेटको कार्यक्रम तय भएको हो।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकीकरणको तयारी भए पनि समय अभाव भएको भन्दै सम्पन्न हुन सकेको थिएन। भ्रमणअघि वैशाख ९ गते एकता घोषणा गर्ने सैदान्तिक सहमति भएको थियो। तर, त्यसयता विवादित विषय मिलाउन शीर्ष नेताबीच कुनै पनि परामर्श हुन सकेको छैन।

दुई दलबीचमा एकीकरणपछि केन्द्रीय समितिमा हुने प्रतिनिधित्वको गर्ने अनुपात, विधानको प्रस्तावनामा प्रयोग हुने राजनीतिक शव्दावली, चुनाव चिह्न लगायतका विषयमा सहमति भएको छैन। विधानमा जनयुद्ध शब्द लेखेर जानु पर्ने माओवादीका प्रस्ताव छ। जसमा एमाले सकारात्मक छैन।

चुनाव चिह्नमा दुबै दलले आ–आफ्नो चिह्नमा दाबी गरिरहेका छन्। केन्द्रीय समितिमा माओवादीले ५०–५० को अनुपात दाबी गरे पनि एमाले भने निर्वाचन परिणामलाई आधार मान्नुपर्ने पक्षमा छ।

प्रतिक्रिया दिनुहोस्