अवैध सुन कारोबारमा त्रिदेशीय जालो, १६ जना पक्राउ

काठमाडौं, साउन ९ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्वीन्टल अवैध सुन प्रकरणको जालो चिनियाँ र भारतीय नागरिकदेखि नेपाली अधिकारीहरुसम्म फैलिएको प्रारम्भिक निष्कर्षमा राजस्व अनुसन्धान विभाग छ ।

राजस्व अनुसन्धान विभागका अनुसार सुन प्रकरणमा अहिलेसम्म एक जना चिनियाँ र एक जना भारतीय नागरिकसहित १६ जनालाई पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेहरुमा रामकुमार भुजेल, दोलखा मेलुङ गाउँपालिका–३, दिलिप भुजेल, दोलखा मेलुङ गाउँपालिका–३, हर्कराज राई, भोजपुर अरुण गाउँपालिका–४, थाप्तेन छिरिङ, भारतिय नागरिक, राजेन्द्र राई (भन्सार एजेन्ट), शोक लामा (ट्याक्सी चालक), जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट (सञ्चालक ट्रान्स ग्लोबस सर्भिस) कृष्ण श्रेष्ठ, यादव पराजुली (भन्सार एजेन्ट)सुदर्शन गौतम (भन्सार एजेन्ट), रुक्मनी सुब्बा (भन्सार एजेन्ट) सन्तोष चन्द (भन्सार अधिकृत) कुमार ढकाल (जाँचकी त्रिभुवन विमानस्थल भन्सार कार्यालय) (सरोज श्रेष्ठ, नायब सुब्बा एक्स–रे हेर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालय) छन् ।

असार ३० गते रेडी ट्रेड्सले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो । लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ब्रेक प्याड बरामद गरेको थियो । त्यसपछि यस प्रकरणमाथिको अनुसन्धानका क्रममा १६ जना पक्राउ परेका हुन् ।

अनुसन्धानमा नेपाली प्रहरी संलग्न

राजस्व अनुसन्धानले अवैध सुन प्रकरणमा हाइ प्रोफाइलको संलग्नताको आशंकामा नेपाल प्रहरीको समेत सहयोग मागेको छ । राजस्व अनुसन्धान विभागका अनुसार ‘अनुसन्धानमा सहयोग गरिदिन आग्रह’ गरेर विभागले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

विभागको आग्रह लगत्तै प्रहरी अनुसन्धानमा संलग्न भएको छ । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी)लाई अनुसन्धानमा खटाएको छ ।

साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको सुन करिब एक क्वीन्टल रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताइएका छन् । सुन हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक प्याड बनाएर ल्याइएको थियो । राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्रबैंकको टक्सार महाशाखामा पठाएको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया शुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ । विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढाइने राष्ट्र बैंकको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यले बताएका छन् ।

६ वटा बाकसमा भेटिएन सुन

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ४ गते ६ वटा शंकास्पद बाकस बरामद गरेको थियो । तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।

बरामद सामान बुढानिलकण्ठस्थित रेडी ट्रेड प्रालि र दोलखा इलेक्ट्रिक ले कार्गोमार्फत ल्याएका थिए । ती बाकसमा दाह्री काट्ने सेभर भटिएको र त्यहाँ सुन फेला नपरेको राजस्व अनुसन्धान विभागका अधिकृतहरु बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब क्वीन्टल सुन रेड ट्रेड प्रालि ले मगाएको थियो । सोही कम्पनीको थप सामान भेटिसँगै थप अवैध सुन भएको आशंकामा विभागले सामान बरामद गरेको थियो । ‘तर, उक्त ६ वटै बाकसमा सुन भेटिएन’ अनुसन्धानमा संलग्न एक अधिकृतले मध्यान्हसँग भने, ‘ ती बाकसमा दाह्री काट्ने सेभर रहेछन् ।’ – मध्यान्हबाट 

प्रतिक्रिया दिनुहोस्