कोसी सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा बहस

काठमाडौं, साउन ७ ।  कोसी सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा बहस हुँदै छ ।गठबन्धन दलले असंवैधानिक तवरले प्रदेश सरकार गठन गरेको भन्दै नेकपा (एमाले) सर्वोच्चमा रिट हालेका थिए ।

एमाले कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाई रिट दायर गरेका छन् । सर्वोच्चमा आज दुवै पक्षका वकिलले आ–आफ्नो तर्फबाट बहस गर्नेछन् ।

रिट उपर गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सरकार गठन गर्दाको दाबी, दलका तर्फबाट पेस भएको हस्ताक्षरसहितका सक्कल कागजात मगाउन आदेश दिएको थियो । मुख्यमन्त्री थापा, प्रदेश प्रमुख खापुङ र सभामुख गौतमसँग लिखित जवाफसमेत माग भएको थियो ।

तीनै जनाले साउन ४ गतेभित्रै आफ्नो जवाफ पेस गरिसकेका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न आह्वान गरी गठबन्धनले वहुमतसहित दाबी गरेपछि मुख्यमन्त्री नियुक्त गरेका थिए । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न सरकारको नाममा आदेश दिएपछि सरकार काम चलाउ अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्