मानव तस्करको जालो दूरदराजका गाउँ–गाउँ पुगिसक्यो
काठमाडौं, ५ श्रावण । तीन दशक अगागिसम्म भारतको कोठीमा लगेर बेच्नुलाई चेलीबेटी बेचबिखन भनिन्थ्यो । तर अब बेचबिखन र गन्तव्य भारत मात्र नभएर खाडीका मुलुकहरु हुँदै अफ्रिकी मुलुकहरु बनिरहेका छन् ।
पहिले पहिले गाउँका सोझा, अशिक्षित र आर्थिक स्थिति कमजोर भएका महिलालाई झुक्याएर कोठीहरूमा लगेर बेचिन्थ्यो भने अहिले वैदेशिक रोजगारीमा पठाईदिने नाममा उनीहरूलाई झुक्याएर मानव बेचबिखनको काम भइरहेको छ ।
विभिन्न प्रलोभनमा पारेर दलालहरूले कुवेत, ओमन, यूएई, कतार, साउदी अरेबिया जस्ता देशहरूमा घरेलु कामदारमा पठाइरहेका छन् । तस्कर, दलालहरू वैदेशिक रोजगारको आवरणमा खुल्लमखुला भारतको बाटोहुँदै खाडी मुलुकहरू र अप्रिकी मुलूकहरुमा बेचबिखन गर्ने काममा सक्रिय छन् । हुन त यो समस्या देसै भरिनै छ भने खासगरि मानव बेचबिखनको जोखिम सबैभन्दा धेरै बाँके, दाङ र बर्दियामा छ ।
दलालहरू एजेन्टका नाममा गाउँ गाउँमा आर्थिक रूपमा कमजोर, अशिक्षित र एकल तथा सोझा महिलालाई राम्रो कमाइ हुने, पैसा नलाग्ने भनेर प्रलोभनमा पार्छन् । आर्थिक रुपमा कमजोर, महिलाको निरक्षर र गरिबीको कारण विदेश जान तयार गराउँछन् ।
जो महिला विदेश जादैछन ति महिलालाई आफू अवैध रूपमा जाँदैछु भन्ने पनि थाहा हुँदैन । वैदेशिक रोजगारीका नाममा उनीहरूलाई विभिन्न सपना देखाइएको हुन्छ तर उनीहरूलाई आफूलाई कहाँ, कसले कसरी लैजाँदैछ भन्ने समेत थाहा हुँदैन । यसको जोखिम बारेमा कुनै जानकारी हुँदैन ।
अवैध रूपमा खाडी पुर्याइएका महिलाहरू अधिकांश घरेलु श्रम तथा यौनशोषणमा पर्ने गरेका छन् । कपितय महिलाको मृत्यु भएको, कति अंगभंग भएका, बेपत्ता पारिएका र यौन हिंसामा परेका घटना छन् ।
नेपाल भारत बीचको खुला सीमाले तस्करहरूलाई वैदेशिक रोजगारीको आवरणमा मानव तस्करी गर्न सजिलो भएको छ । खुला सीमा भएकाले राहदानी पनि नचाहिने र सजिलै ओहोरदोहोर गर्न सकिने भएकाले तस्करहरू भारतलाई ‘ट्रान्जिट पोइन्ट’ बनाएर विभिन्न मुलुकमा महिलालाई बेचबिखन गरिरहेका छन् ।
तर, सीमाका मुख्य नाकाहरूमा माइती नेपाल, प्रहरी र अन्य संघ–संस्था भएका हुँदा दलालहरूले अनेक जुक्ति लगाएर महिला तथा किशोरीहरूलाई सीमा पार गराउँछन् । कतिपय अवस्थामा पत्ता लगाउन मुश्किल पर्छ । नाकामा प्रहरीले सोधपुछ गर्दा घुम्न जान लागेको, उपचार गर्न, आफन्त भेट्न, सामान किन्न जान लागेको भनेर सिकाइएको हुन्छ ।
कतिपय अवस्थामा श्रीमान् श्रीमती र बाबु छोरी नै सँगै लिएर सीमा पार गराउँछन् । कतिपयलाई चाहिं मुख्य नाका बाहेक चोरी नाकाहरूबाट पनि पारि पुर्याइन्छ । कहिलेकाहीं रातिको समयमा पनि सीमा पार गराइन्छ । सीमा पार गरेर पछि दिल्ली वा मुम्बई पुर्याएर राखिन्छ । त्यहींबाट दुबईहुँदै खाडी मुलुकमा घरेलु कामदारका रूपमा वा यौन धन्दाका लागि पठाइन्छ ।
कति चाहिं शंका लागेर सोधपुछ गर्दा सीमामा समातिन्छन् । त्यसरी सीमाबाट उद्धार गरिएकाहरूलाई आफूहरू दलालको फन्दामा परेको, कहाँ, केका लागि जाँदैछु भन्ने पनि थाहा हुँदैन । दलालको फन्दामा परेर जोखिमपूर्ण यात्रा गर्न लागेका हजारौंको संख्यामा उद्धार पनि गरिएको छन् ।
तथ्याङ्कहरुले यो संख्या हरेक वर्ष बढ्दो गइरहो देखाउछ । त्यसरी दलालको फन्दामा परेर जान लागेकाहरूलाई सोधपुछ र सम्झाई–बुझाई पछि परिवारको जिम्मा लगाउने काम हामी विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाले गरिरहेका छन् ।अवैध रूपमा खाडी मुलुक तथा भारत पुर्याएकाहरूलाई खोजतलास गर्न तथा उद्धारका लागि भनेर विभिन्न संघ संस्था र प्रहरी प्रशासनमा निवेदनहरू पनि आउँछन् ।
अवैध रूपमा खाडी पुर्याइएका महिलाहरू अधिकांश घरेलु श्रम तथा यौनशोषणमा पर्ने गरेका छन् । यौन हिंसामा परेका घटना छन्, त्यसमा पनि यौनशोषणका घटना बढी देखिन्छन् । खाडी मुलुकहरूमा घरेलु कामदारमा धेरै यौनशोषणमा परेको भेटिन्छ ।
महिलाहरू यौनशोषणमा परे पनि त्यसबारे खुलेर बोल्न चाहँदैनन् । परिवार र समाजको तिरस्कारको डरले आफू हिंसामा परे पनि उनीहरू घटना लुकाएर बस्छन् । उनीहरू मुद्दा–मामिलामा पनि जाँदैनन् । त्यसकारण पनि मानव बेचबिखनका घटना धेरै भए पनि मुद्दा दर्ता चाहिं थोरै हुने गर्छन् ।
यी तमाम घटनाक्रमले मानव तस्करीको जालो गाउँका कुना कुनासम्म पुगेको छ । तस्करहरूले पैसाको प्रलोभनमा पारेर एजेन्टहरूलाई सक्रिय बनाएका छन्, कोही यो अपराधको बारेमा थाहा नपाएर र कोही पैसाको लोभले मानव तस्करको सहयोगीको रूपमा काम गरिरहेका छन् । म्यानपावर कम्पनीका एजेन्टहरू पनि यस्ता कार्यमा संलग्न छन् ।
यस्ता जघन्य अपराध रोक्नको लागि सरकारको प्रयास मात्र पर्याप्त देखिदैन । त्यसैले यसबारे ग्रामिण क्षेत्रमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै, स्थानीयतहमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ सस्थाहरुलाई परिचान गरी आम नागरिकलाई सचेत गराउन जरुरी छ ।















प्रतिक्रिया दिनुहोस्