‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’को नयाँ संस्करण, सहभागिताको लागि आवेदन आह्वान

काठमाडौं । दक्ष इन्टरनेशनलले ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’को नयाँ संस्करण घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले यस वर्षको संस्करणलाई अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गरिने बताउनुभयो ।

आयोजकका अनुसार यस वर्ष ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करण आयोजना हुन लागेको हो । प्रतियोगिताको अडिशन तथा छनोट प्रक्रिया असार २० गतेबाट सुरु भएको छ भने ग्राण्ड फिनाले साउन ३० गते राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ ।पाण्डेले प्रतियोगिता सौन्दर्य प्रदर्शनमा मात्र सीमित नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता, सञ्चार सीप र आत्मविश्वास अभिवृद्धिको सशक्त मञ्च भएको बताउनुभयो । छनोट भएका प्रतियोगीलाई करिब एक महिनासम्म अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकबाट व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, फेसन तथा ग्रुमिङलगायत विषयमा विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा अभिनेता धिरेन शाक्य, गायक आनन्द कार्की, कोरियोग्राफर आश्विनी कान्त झा, सामाजिक अभियन्ता रमेश बुढाथोकीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गत वर्षका विजेताहरूलाई सम्मानसमेत गरिएको थियो ।

आयोजकले  विवाहित तथा अविवाहित दुवै महिलाका लागि खुला प्रतियोगिताले महिला सशक्तीकरण, प्रतिभा विकास तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्ने विश्वास लिइएको छ । कार्यक्रमको इभेन्ट म्यानेजरमा गीता उप्रेती, बजार व्यवस्थापकमा मेघबहादुर विश्वकर्मा (मेघेन्द्र) तथा कोअर्डिनेटरमा कविता थापा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्